Shittalpati
गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार : शान्ति समाज

रामचन्द्र रायमाझी
पाल्पा, मानव अधिकार, तथा शान्ति समाजले गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकारको विषय रहेको बताएको छ । मानव अधिकार शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था समाजले वर्तमान आवश्यकता गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा रहेकाले यो सबैको अधिकारको विषय बन्नु पर्ने बताएको हो । शिक्षा दुई वर्गमा विभाजन भएकाले सपन्न र विपन्न वर्गले प्राप्त गर्ने शिक्षा एकै खालको हुनुपर्नेमा शान्ति समाजको जोड छ । सोमबार मानव अधिकार, तथा शान्ति समाज पाल्पाको २१ औं साधारण सभा तथा ‘गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ विषयक विचार गोष्ठीमा मानव अधिकारकर्मीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि तथा नागरिक समाजका अगुवा, साहित्यकार, चित्रवलीराम सुवालले गुणस्तरी, व्यावहारिक, वैज्ञानिक शिक्षा र गुणस्तरी स्वास्थ्य अहिलेको आवश्यकता रहेको औल्याए । उनले समयको मागसँगै वैज्ञानिक र गुणस्तरी स्वास्थ्य, शिक्षा पाउनु आम नागरिकको अधिकार रहेको बताए ।

 

कार्यक्रमका प्रमुख वक्ता तथा मानव अधिकार, तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले शिक्षालाई वैज्ञानिक, व्यवहारिक र गुणस्तरी स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउने विषयमा शान्ति समाजले सम्बन्धित निकायसँग बहससँगै ध्यानाकर्षण गराउने काम गरेको बताए । उनले अन्य मौलिक अधिकार जस्तै गुणस्तरी स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकारको विषय बन्नुपर्नेमा जोड दिए । मानव अधिकारको आन्दोलन अब साहित्यिक आन्दोलनसँग सँगै अगाडि बढ्ने सभापति खनालको भनाई छ । नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि ऐक्यवद्धतास्वरुप थालेको अभियानलाई शान्ति समाजले तीव्रता दिने समेत उनले बताए । सभापति खनालले फरक प्रसंगमा नेपाल राज्यपक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानुन निर्माण तथा परिमार्जन तदारुकताका साथ गर्न शान्ति समाजले सरकारको ध्यानाकर्षण गराएको समेत बताए । उनले मानव अधिकार सम्बन्धी भएका अन्तर्राष्ट्रिय सन्धि शीघ्र अनुमोदन गर्न आफुहरुले सरकारलाई घच्घच्याई रहेको धारणा व्यक्त गरे । सभापति खनालले प्राकृतिक दोहनका कारण मानव समुदाय समेत संकटमा परेकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले चुरेले दोहन नरोके मानव संकट उत्पन्न हुने तर्फ संकेत गर्दै चुरे दोहन रोक्न सरकारलाई समेत आग्रह गरे ।

समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर रावलले हरेक नागरिकले गुणस्तरी स्वास्थ्य र वैज्ञानिक, व्यवाहारिक शिक्षा पाउनु मौलिक अधिकार भएकाले त्यसको कार्यान्वयनमा शान्ति समाज अगाडि बढेको बताए । उनले हिंसात्मक गातिविधि रोक्नेदेखि आम नागरिकको अधिकारलाई कार्यान्वयन गराउने दिशामा आफुहरु सधै सक्रियता साथ लागेको धारणा व्यक्त गरे । कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, शान्ति समाज पाल्पाका पूर्व सभापतिहरु पुष्करराज रेग्मी, नारायण प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव तथा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सेना लगायतले शान्ति समाजले मानव अधिकारी र शान्तिको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

सोही अवसरमा समाजले मानव अधिकार तथा शान्तिको क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका दुई जनालाई सम्मान समेत गरेको छ । समाजका पूर्व सभापतिहरु कृष्णबहादुर रावल र नारायण प्रसाद शर्मालाई प्रमाण पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । समाजका सभापति अरूण ज्ञवालीको अध्यक्षता, उपसभापति रेनुका देवकोटाको स्वागत, संस्थाका सचिव सन्तविर बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update