Shittalpati
बगनासकालीमा बजार अनुगमन : अखाद्य सामग्री नष्ट

रामचन्द्र रायमाझी

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी, महंगी र अखाद्य वस्तुको विक्री वितरण रोक्न गाउँपालिकाले शुक्रबार बजार अनुगमन गरेको हो ।

संयुक्त बजार अनुगमन टोलीले बगनासकालीको आर्यभञ्ज्याङ, राम्दी, बराङ्दी, चापपानी, दर्लमडाँडा, खानीगाउँ लगायतका बजारहरुमा ८६ पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा ७ हजार ८ सय ६० बराबरको लेबल नभएका र म्याद नाघेका सामान समेत बरामद गरी नष्ट गरिएको अनुगमन कार्यक्रमका फोकल पर्सन तथा गाउँपालिकाका शाखा अधिकृत भरत घिमिरेले बताए । उनका अनुसार विभिन्न किराना, तरकारी, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा लेबल नभएका र म्याद नाघेका घिउ, दालमोट, विष्कुट,जुस लगायतका सामान बरामद गरी नष्ट गरिएको हो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको उनको भनाई छ ।

अनुगमनका क्रममा अधिकांस पसलहरुमा मूल्यसूची टाँस नगरिएको, होर्डिङ बोर्ड नराखेको, म्याद नाघेका सामग्री बिक्री गरेको भेटिएको अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा मनोज आचार्यले बताए । ‘गुणस्तरहीन तथा म्याद गुज्रिएका सामग्री बरामद गरेर नष्ट गरिएको छ,’ उनले भने । मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, होर्डिङ बोर्ड नराखेका पसलहरुमा तत्काल राख्न अनुरोध गरिएको आचार्यले बताए । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उनले जानकारी दिए । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी थमनबहादुर सारुले बताए । कोभिड १९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड अपनाई पसल सञ्चालन भए, नभएको तथा खाद्यवस्तुको कृत्रिम अभाव देखाई मूल्यवृद्धि र कालोबजारी नहोस् भन्ने हेतुले बजार अनुगमन गरिएको उपभोक्ता हित संरक्षण समिति पाल्पाकी माया नेपालले बताईन । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति,उपभोक्ता हित संरक्षण समिति, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, गाउँपालिकाका कर्मचारी, प्रहरी र पत्रकार लगायतको संयुक्त टोलीले अनुगमन गरेको थियो । अनुगमनबाट व्यापारी तथा उपभोक्ता दुवै सचेत हुने विश्वास गरिएको छ । गाउँपालिकाले विभिन्न्न समयमा बजार अनुगमन गर्दै आएकाले पनि धेरै व्यापारीहरु सचेत भएका छन् । विगतमा पसलै पिच्छे अखाद्य वस्तु विक्री हुने गरेको भए पनि अहिले भने धेरै कम भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update