Shittalpati
गुल्मीको ट्राफिक व्यवस्थापनमा चासो

गुल्मी, गुल्मीको सदरमुकाम तम्घासको ट्राफिक व्यवस्थापन गर्न चासो देखाइएको छ । दशै र तिहार जस्ता महान् चाडपर्वलाई लक्षित गरेर गुल्मीको सदरमुकाम तम्घासमा ट्राफिक व्यवस्थापन चासो देखाइएको हो ।

सदरमुकाम तम्घासमा चाडपर्वको अवसरमा यात्रुहरुको चाप अत्याधिक बढ्ने भएकोले सहज रुपमा सवारी आवतजावत गराई यात्रुलाई सहजता दिनका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरेर विभिन्न निर्णयहरु पारित गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरिक्षक कृष्ण प्रसाद आचार्य, रेसुङ्गा नगरपालिका १ का वडाध्यक्ष अखिलेश्वर पाण्डे, वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीसहित सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिसहितले गरेको छलफलमा तम्घास बजारमा ट्राफिक व्यवस्थापन गर्न विभिन्न निर्णयहरु पारित गरिएको हो ।

तम्घास बजारमा सवारी पार्किङ गर्दा सडकको एक छेउमा मात्र पार्किङ गर्ने (एकदिन एक छेउमा – अर्को दिन अर्को छेउ), बैंकका कर्मचारीहरुको सवारीसाधन निश्चित ठाउँमा पार्किङ गर्ने, स्कुल बस सञ्चालन गर्ने समय अर्थात् बिहान ९ बजेदेखि साढे ११ बजेसम्म टिप्पर, ट्रक र ट्याक्टर सञ्चालन हुन नदिने, सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगरप्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने, सबैले मास्क अनिवार्य लगाउने, बजारमा समान लोड र अनलोड बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नगर्ने, खाली टिप्पर र ट्रक बाख्रे छेडाको सडक प्रयोग गर्ने र बजारमा प्रेसर हर्न निषेध गर्ने लगायतका निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिए । छलफलमा गरिएका निर्णयहरु आइतबारदेखि लागू हुने छन् । छलफल कार्यक्रममा रेसुङ्गा नगरपालिका १ का वडाध्यक्ष अखिलेश्वर पाण्डेको अध्यक्षता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update