Shittalpati
गुल्मीका विद्यालयमा अनुगमन

गुल्मी,  जिल्लाका विद्यालयहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सहितको समूहले सदरमुकाम स्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेको हो । विद्यालय सञ्चालनमा आए पनि संक्रमण कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख दिनेश पोखरेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्य, जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख लोकनाथ मरासिनी, रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु ज्ञवालीसहितको समूहले सदरमुकामस्थित सिद्धबाबा माध्यमिक विद्यालय र महेन्द्र नमुना माध्यमिक विद्यालयको अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सबै विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अध्यापन गराउनुपर्ने बताएका थिए । उनले विद्यालयहरुमा कोरोना भाइरसको संक्रमण दर बढिरहेकोले सबै विद्यार्थीहरुले अनिवार्य मास्क लगाउनुपर्ने, साबुनपानीले राम्रोसँग हात धुनुपर्ने र सबै विद्यार्थीहरुलाई शिक्षकले राम्रोसँग स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्ध जानकारी दिने जस्ता कुराहरुमा ध्यान दिन शिक्षकलाई आग्रह गरे ।

जिल्लाका सबै विद्यालयहरुमा स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षाका मापदण्डका सम्बन्धमा अनिवार्य जानकारी दिन पनि प्रमुख जिल्ला अधिकारी पौडेलले स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् । विद्यार्थी र शिक्षकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अध्ययन र अध्यापनमा जोड दिनुपर्ने उनले बताए । विद्यालय अनुगमनको क्रममा सिद्धबाबा माध्यमिक विद्यालयले अनुरोध गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले अमलाको बिरुवा समेत रोपेका थिए । उनले सदरमुकामका विद्यालयहरु व्यवस्थित भएको र अझै व्यवस्थित गराउन आग्रह गरे । स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले सदरमुकाममा स्कुल बस सञ्चालन गर्दा व्यवस्थित तरिकाले सञ्चालन गर्न निर्देशन दिएका छन् । गएको ४ दिनमा रुरु गाउँपालिकामा शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण दर निरन्तर बढिरहेको छ । शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि रुरुक्षेत्र गाउँपालिकाका ३ वटा विद्यालय बन्द गरिएको छ । विद्यार्थीहरु सूचनाको संवाहक भएकाले विद्यार्थीमार्फत घर–घरमा सूचना पु¥याएर सबैलाई मास्क अनिवार्य, साबुनपानीले हात धुन अनिवार्य र भौतिक दूरी कायम गर्न अनिवार्य गरेर कोरोना भाइरसबाट सबै बच्ने अनुगमनको मुख्य उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update