Shittalpati
रामपुरमा सुनको सिक्री चोरी गर्ने पक्राउ

पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा सुनको सिक्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । रामपुर –४, देवीस्थानकी स्थानीय ५० वर्षीया पुर्ना फालमगरको सुनको सिक्री चोरी गर्ने भारतीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जोगीको भेषमा घुम्दै आएका भारत उत्तरप्रदेश श्रावस्ती पोष्ट चमरपुरवाका ३६ वर्षीय रामनरेश हरिजन र सोही स्थानका ४३ वर्षीय लड्रडन हरिजनलाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । फाल मगरले नुहाउने क्रममा घरको च्यानल गेटमा रहेको ताल्चा झुण्डाउने कुण्डीमा सुनको सिक्री झुण्ड्याएर राखेकी थिइन । झुण्ड्याइएको अवस्थामा राखिएको उक्त सिक्री चोरी गरेर फरार रहेका उनीहरुलाई रामपुर प्रहरीले रामपुर –४ देविस्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरु बुधबार दिउँसो १२ बजेतिर फालको घरमा जोगीको भेषमा पुगेका थिए । सुनको सिक्री चोरी भएको थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय रामपुरको टोलीले उनीहरुलाई खोजी गर्ने क्रममा पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत पाल्पाबाट ७ दिनको म्याद थपको आदेश लिई आवश्यक अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update