Shittalpati
अभिभावक सचेत बन

नेपाल सरकारले दादुरा रुबेला खोप अभियान सञ्चालन गरिरहेको छ । दुई चरणमा अभियान अगाडि बढिरहेको छ । सरकारले बालबालिकाको स्वास्थ्य माथिको जोखिम कम गर्न दादुरा–रुबेलाविरुद्ध खोप लगाउने कार्यलाई अभियानका रुपमा सञ्चालन गरेको छ । यो अत्यन्तै प्रशंसनिय रहेको छ । पाल्पामा पनि दादुरा रुवेला अभियान सञ्चालन भइरहेको छ । दुई चरण्मा गरी पाल्पाका १० स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ । जिल्लाका २३ हजार बालबालिकाहरुलाई दादुरा रुबेला खोप दिइएको छ । अभियान अन्तर्गत जिल्लाका सबै स्थानीय तहका टोल टोलहरुमा अभियान चलिरहेको छ । फागुन २५ गतेसम्म सञ्चालन हुने अभियानको पहिलो चरणको कार्यक्रम फागुन १५ गतेसम्म सञ्चालन भएको थियो ।

दोस्रो चरणको अभियान फागुन १५ गतेदेखि सञ्चालन भएको छ । अभियानमा सबै बालबालिकाहरुलाई सहभागी गराउन स्थानीय सरकारहरुले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । उनीहरुले स्थानीय सरकारको दायित्व र भूमिकालाई आत्मासाथ गर्नु सकारात्मक रहेको छ । दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामान्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने कारणले मृत्युदर बढिरहन्छ ।

सामान्य रुघाखोकी, ज्वरो, दादुरा जस्ता संक्रामक रोगका कारणले बालबालिका छिट्टै प्रभावित हुने र समयमा उपचारको पहुँच नहुँदा ज्यान नै जाने गरेको छ । यस्ता रोगले छिट्टै महामारीको रुप लिने भएकाले तिनका विरुद्ध खोपको मात्रा पूर्ण गर्नुपर्दछ । प्रत्येक चार वर्षमा अभियानका रुपमा सञ्चालन भइरहेको खोप कार्यक्रममा जन्मिएको नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई समेटिने गरेको छ । यस्ता खोपहरुका कारण कतिपय संक्रमण उत्पन्न गर्ने रोगहरुलाई निवारण गर्न सकिने भएकाले खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर जोखिम कम गर्न र बाँच्न पाउने अधिकारको रक्षा गर्न अभिभावक सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update