Shittalpati
४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना

नरेश केसी(रासस)

सिद्धार्थनगर, लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ । लुम्बिनी विकास कोषले एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ । विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार कोषले लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग अलग–अलग ठेक्का सम्झौता गरेको हो । सदस्यसचिव शाक्यले भने, ‘गुणस्तरीय काम समयमै सक्ने गरी हामीले ठेक्का सम्झौता गरेका छौँ, विश्वका ११५ देशका नागरिकले भ्रमण गर्ने लुम्बिनीको काम अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्छ, कुनै कैफियत हुन दिने छैनौँ ।’ गुरुयोजनाको अन्तिम कामको सुरुआत भएसँगै लुम्बिनीमा अबका दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठ/आठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७ सय सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिङ्केज सडक बनाइने विकास कोषका योजना प्रमुख सरोज भट्टाराईले बताए । टिसीआइएल सिआइएफ जेभी प्राविधिक परामर्शदाता रहेको उक्त काम तीन अर्ब ५० करोड लागतमा सम्पन्न गर्ने गरी अगाडि बढाइएको योजना प्रमुख भट्टराईले बताए । उनले भने, ‘ सात अर्ब रकम बराबरको काम बाँकी थियो, त्यसमध्ये साढे तीन अर्बको कामको ठेक्का सम्झौता भई काम सुरु भयो, अब अझै साढे तीन अर्बको कामको ठेक्का लगाउने प्रक्रिया सुरु भएको छ, फोहर व्यवस्थापन, नदी नियन्त्रण, उत्थान्त अडिटेरियम हल तथा अन्य भवन र हरियालीको काम बाँकी छ ।’

निर्माण व्यवसायीसँग कामको सुरुआत गर्ने गरी सम्झौतामा हस्ताक्षरपश्चात लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले भने, ‘यो सामान्यखाले ठेक्का परियोजना होइन, आजभन्दा ४३ वर्ष अगाडि नेपाल सरकारले तत्कालीन समयमा सात गाउँ हटाएर सुरु गरेको आयोजना हो, यसले अब मूर्तरुप लिँदैछ । ’ उपाध्यक्ष मेतेयाले नेपाल सरकार र नेपालीले सोचेको संसारकै बौद्ध सहरको रूपमा विकास गर्ने परिकल्पनाले साकार रुप लिँदै गर्दा धेरै खुसी लागेको बताए । टुक्रे योजनामा काम गर्दा समयमै गुरुयोजनाको काम नसकिएको जनाउँदै उनले दुई वर्षसम्मको मेहेनत र प्रयास तथा सबैको सहयोगले एउटै प्याकेजमा गुरुयोजनाको अन्तिम कामको सुरुआतसमेत गरिएको जानकारी दिए । सम्झौतापश्चात निर्माण व्यसायीका तर्फबाट रमन कन्सट्रक्शनका प्रबन्ध निर्देशक पवन महतोले समयमै गुणस्तरीय काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना ४३ वर्ष बितिसक्दासमेत अधुरो रहँदै आएको थियो । चार दशकमा ८० प्रतिशत मात्र काम भएको छ । अहिलेसम्म गुरुयोजनाअनुसार विहार क्षेत्रमा सबैभन्दा बढी रु डेढ अर्ब खर्च भएको छ । १२ वटा विहार नेपालले निर्माण गरेको छ । सबैभन्दा आकर्षक मानिने चिनियाँ र जर्मनीका विहार निर्माणका लागि दुवै मुलुकले रु ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को थाइल्याण्डले रु १० करोड २५ लाख लागतमा विहार बनाएको छ ।

लुम्बिनीग्राम क्षेत्रमा एक अर्ब २७ लाखभन्दा बढी खर्च भएको छ । त्यस क्षेत्रमा निर्माण भएका होक्के र कासाई होटलले ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी सङ्ग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ । जापानी संस्था रेयुकाईले ३० करोड ८० लाख लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यस क्षेत्रमा अझै करिब तीन अर्ब लागतमा विभिन्न भौतिक संरचना निर्माण हुनेछन् । लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूणर् मानिने पवित्र उद्यान क्षेत्रमा ४० करोड लगानी भएको छ । त्यस क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख खर्च भएको छ । मायादेवी मन्दिर निर्माणका लागि सात करोड लागेको थियो । यस्तै लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी भएको छ । नहर निर्माणमा मात्रै २४ करोड खर्च भएको छ ।

कोषका अनुसार ४३ वर्षअघि टाँगेले प्रस्ताव गरेको गुरुयोजनाअनुसार लुम्बिनीका प्रमुख भू–भागका रूपमा रहेका तीन वर्गमाइलभित्र उद्यान, अन्तर्राष्ट्रिय विहार र लुम्बिनीग्राम गरी तीनवटा क्षेत्र समावेश छन् । त्यसलाई एक/एक वर्गमाइलमा विभाजन गरी उत्तरतर्फ लुम्बिनीग्राम, दोस्रो खण्ड अन्तर्राष्ट्रिय विहार र गुम्बा क्षेत्र नामाकरण गरिएको छ । बाँकी एक वर्ग माइलको दक्षिणतर्फ पवित्र उद्यान नाम दिइएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । जहाँ बुद्धले धर्तीमा पहिलो पाइला टेकेका थिए । लुम्बिनी ग्राममा विश्वशान्ति स्तुपा, उच्चस्तरीय आवासका लागि होक्के होटल, सारस फाउण्डेशन, मध्यमस्तरीय होटल कासाइ र श्रीलङ्काको पिलग्रिमेज हाउस अवस्थित छन् ।

पर्सा–तौलिहवा सडकको दक्षिणपट्टि सांस्कृतिक केन्द्रमा लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, लुम्बिनी सङ्ग्रहालय र बसपार्क तथा विकास कोषको कार्यालयसमेतका भाग छन् । विहार क्षेत्रलाई दुई भागमा विभाजन गरिएको छ । केन्द्रीय नहरको पूर्वपट्टि थेरवादी र पश्चिमपट्टि महायानीहरूका लागि प्लट छुट्याइएका छन् । पूर्वपट्टि नेपाल, भारत, श्रीलङ्का, म्यानमार, कम्बोडिया र थाइल्याण्डले आ–आफ्नो राष्ट्रिय पहिचानमा विहार तथा अतिथिगृह निर्माण गरेका छन् । पश्चिमपट्टि नेपाल, कोरिया, चीन, जापान, फ्रान्स, भुटान, जर्मनीका सरकार तथा संस्थाले पनि आ–आफ्नो अस्तित्व पुष्टि गर्ने विहार एवं स्तुप तयार गरेका छन् । नहर तथा आन्तरिक सडकको दायाँ–बायाँपट्टि योजनाअनुरूप पंक्तिबद्ध ढङ्गले वृक्षरोपण गरिएको छ । केन्द्रीय नहरको दक्षिण र दक्षिण–पूर्व कुनामा क्रमशः विश्वशान्ति दीप र शान्ति घण्ट अवस्थित छन् ।

सर्कुलर लेभीको बीचमा अवस्थित पुरातात्विक बगैँचामा अशोकस्तम्भ, मायादेवीको मन्दिर, पुष्करिणी तलाऊ, स्तुप र विहारका स्मारकहरू छन् । यो क्षेत्र विशेष संवेदनशील भएकाले वर्षाको बाढीबा बचाउन वरिपरि चारवटा पोखरी बनाइएका छन् । तीन वर्गमाइलको बाहिरपट्टि मध्यवर्ती क्षेत्र र निषेधित क्षेत्र भए पनि व्यक्तिगत भवन बनाइएको देखिन्छ । सन् १९९७ मा विश्व सम्पदामा सूचीकृत भएको हो, लुम्बिनी । ‘स्मार्टसिटी’का रूपमा विकास गर्ने गरी सरकारले गृहकार्यसमेत थालेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update