Shittalpati
आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा गरे पाप पखालिने विश्वास !

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको बगनासकालीकी रेनुका बस्याल बिहीबार तिजको निराहार व्रत बसिन । आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै उनी व्रत बसेको बताउँछिन् । तिजको व्रत बसेकी उनी आज सप्तऋषिको पूजा गर्ने तयारीमा जुटेकी छन् । रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने वा पाप पखालिने धार्मिक विश्वासले हरेक वर्ष ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा गर्ने गरेको बस्यालले बताइन ।


गुल्मी इस्माकी कमला मल्ल पनि तिजको व्रत बसेकोले आज ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गर्ने तरर्खरमा छिन् । हरेक वर्ष जस्तै यस वर्ष पनि तिजको व्रतसँगै सप्तऋषिको पूजा आरधाना गर्ने गरेको मल्लले सुनाइन् । उनले ऋषिपञ्चमीको पूजा नगरे तिजको व्रत अपुरो हुने धार्मिक विश्वास रहेकाले आज सप्तऋषिको पूजा गर्न लागेको बताइन् । मल्ल र बस्याल जस्तै तिजका व्रतालुहरुले तिजको पर्सिपल्ट सप्तऋषिको पूरा गरी व्रत समाप्त गर्दछन् । ऋषिपञ्चमीको पूजा नगरे तिजको व्रत अपुरो हुने धार्मिक विश्वास रहि आएको छ । त्यसैले नारीहरु भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउने गर्दछन् । उनीहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । कतिपयले घरमै परिवारका सदस्य र छिमेकीहरु भेला भई पुरोहित बोलाएर सामूहिक पूजा गर्ने गर्दछन् । कतिपयले भने ऋषिको मन्दिरमा गएर पूजा गर्दछन् । सप्तऋषिको पूजा गरिसकेपछि भजनकिर्तन गर्दै नाच्ने चलन पनि छ । ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गरेमा जानीजानी गरेको वा अञ्जानबस गरेको ‘पाप’ सबै नष्ट हुने धार्मिक विश्वास पनि छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ‘ऋषिपञ्चमी’ भन्ने गरिएको हो । हरितालिका (तिज) को व्रत एवं पूजा आराधना महिला र पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एक किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शीरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्‍यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए । यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पाइन्छ ।


रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद्हरु बताउँछन् । रज भनेको फोहोर हो, जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्दछ र यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने कुरा अनुसन्धानले पनि पुष्टि गरेकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुसन्धान गरिनुपर्नेमा धर्मशास्त्रविद्हरुको जोड छ ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update