Shittalpati
लोकतन्त्र र जवाफदेहिता

राजनीतिक प्रक्रिया र विचारमा जवाफदेहिता अर्थात् उत्तरदायित्व महत्वपूर्ण प्रश्न हो । लोकतन्त्रमा जवाफदेहिताको बढी महत्व हुन्छ । जवाफदेहिता बिनाको लोकतन्त्र सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि गर्न सकिन्छ । आजसम्म लोकतन्त्र, जसलाई जनताद्वारा सञ्चालित शासन व्यवस्था भनिन्छ । जनताका बीचमा जाने माध्यम आधुनिक लोकतन्त्रमा राजनीतिक दलहरू हुन । दलहरू आफ्नो कार्यक्रम÷विचार लिएर जनताको बीचमा जान्छन् । त्यस मध्येबाट जनताले चुनेर राजनीतिक संस्था निर्माण हुन्छ । राजनीतिक दलकै नेताहरु सत्ता र शक्तिमा पुग्छन् । पछिल्लो समय तिनै राजनीतिक दलका नेता शक्ति र सत्तामा पुगेपछि जवाफदेहिता भन्ने कुरा हराउँदै जान थालेको छ । झण्डै दुई तिहाइ बहुमतको समर्थन प्राप्त गरेको सरकार छ ।

सरकारका मन्त्रीहरूमा प्रचण्ड बहुमतको घमण्ड छ । लोकतन्त्रमा संविधानबाट निर्मित संस्थाहरू (राजनीतिक दल, राज्यका अंग, संवैंधानिक अंग लगायत) जनताप्रति उत्तरदायी हुनुपर्छ । त्यसप्रति जनताको खबरदारी पनि उत्तिकै आवश्यक छ । जवाफदेहिताको छलफलमा जनता र सामान्य नागरिकको भूमिका के हुन्छ ? यदि जनता जागरुक र सचेत भएन भने या पाँच वर्षका लागि भोट हालि सकियो भनेर हात बाँधेर बसे भने अवस्था कस्तो होला ? यो अहम् प्रश्न बन्दै गएको छ । यस्तो अवस्थामा वास्तविक लोकतन्त्र धराशायी हुँदै जाने छ । लोकतन्त्रको नाममा अधिनायकत्व हावी हुनेछ । जवाफदेहिता सुनिश्चित गर्न सकिन्न । जनता जति सचेत र चेतनशील हुन्छन् त्यति नै जवाफदेहिताको महत्व बढ्छ । जनताको सबैभन्दा बढी दायित्व भनेको निर्वाचनपछि पनि दलहरूलाई घचघच्याइरहने हो । राजनीतिक जवाफदेहिताको अर्को महत्वपूर्ण पक्ष सरकारले वाचा गरेका विषय पूरा गर्न सके या सकेनन् भनेर खोजिनुपर्छ ।

सरकारले भन्दै नभनेको विषय गर भन्न सकिँदैन । वाचा गरेका विषय कार्यान्वयन भए÷भएनन् भन्ने बारेमा चनाखो भई खोतल्न सक्नुपर्छ । निर्वाचन अघि भनौं या भाषणमा बोलेका विषय कार्यान्वयन भए/भएनन् भनेर सोध्ने अधिकार नागरिकले राख्छन् । तर जनताले नै चुनेका नेता तथा मन्त्रीहरुले सत्ता नपाउञ्जेल चर्को स्वरमा कराउने र पद प्राप्त गरेपछि मुसो जस्तै दुलो पसेर चुपचाप बस्ने प्रवृत्ति बढ्दै गएको छ । मन्त्री पद नपाउञ्जेल आकाश पातल जोडेर गफ हाक्ने नेता मन्त्री भएपछि चाहिने कुरो बोल्दै बोल्दैनन् । उल्टापाल्टा कुरा मात्र बोल्दछन् र जनताले मागेकोे जवाफ दिँदै दिँदैनन् । मन्त्रीहरू जनताप्रति जवाफदेही हुनुपर्दछ भन्नुको अर्थ जे मन लाग्यो त्यो बोल्दै हिँड्नु पनि होइन ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update