Shittalpati
ईस्मामा रहँदा गरेका केही सुधारका कामहरु

विष्णु घर्ती ‘भनभनेली’
नेपालको संविधानले व्यवस्था गरेको स्थानीय सरकारको अवधारणा बमोजिम ७५३ स्थानीय तहमध्ये इस्मा गाउँपालिका पनि एक हो । यो लुम्विनी प्रदेश अन्र्तगत गुल्मी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित रहेको छ । इस्मा गाउँपालिका ऐतिहासिक पृष्ठमूमिबाट नामकरण भएको क्षेत्र पनि हो । यस गाउँपालिकाको पूर्वमा मुसिकोट र रेसुङ्गा नगरपालिका, दक्षिणमा धुर्कोट गाउँपालिका, पश्चिममा धुर्कोट र मालिका गाउँपालिका र उत्तरमा मुसिकोट नगरपालिका रहेका छन् । यस गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् । जसमा साबिकको हस्तिचौर गा.वि.स. लाई २ वटा वडा १ र २ मा विभाजन गरिएको छ भने दर्लामचौर, दोहोली, इस्मा रजस्थल, अमरपुर गा.वि.स. हरुलाई क्रमश ३, ४, ५, ६ वडाहरुमा विभाजन गरिएको छ । वडा नं. १ को हर्पुकोट र वडा नं. २ को छल्दीटाँरीमा वडा कार्यालय रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ८१.८८ वर्ग कि.मी. रहेको छ भने यहाँको जनसंख्या महिला १२०५६ र पुरुष ८९०८ गरि जम्मा २०९६४ रहेको छ । यसको औषत उचाई समुन्द्री सतहवाट १५०० मी. रहेको छ । साविक इस्मा रजस्थल गा.वि.स.को कार्यालय रहेको स्थानमा अस्थायी कार्यालय स्थापना गरी दैनिक सेवा–प्रवाह गरिरहेको छ । मैले केही समय यस गाउँपालिकाको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर काम गर्ने सौभाग्य प्राप्त गरे । भनिन्छ, कुनै पनि कामको शुरुवात आफैबाट गरिनु पर्दछ । यस भनाइलाई आत्मसात गर्दै मैले इस्मा गाउँकार्यपालिकाको कार्यालयमा हाजिर भएपश्चात सरोकारवालाको सल्लाह, सुझाव र आफ्नै पहलमा केही सुधारात्मक कार्यहरु गर्ने प्रयास गरे । २०७७/११/१९ गतेदेखि २०७८/०४/१२ गतेसम्म मैले गरेका कार्यसम्पादनका विषयमा यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरेको छु ।

गाउँपालिकामा रहँदा मैले नेपालको राष्ट्रिय झण्डाको व्यवस्थापन र विस्तार गर्ने काममा समन्य गर्ने काम गरे । गाउँपालिकाका सबै वडातहमा रहेका वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा राष्ट्रिय झण्डा राख्ने कामको थालनी गरिएको थियो । अध्यक्ष तथा उपाध्यक्षको कार्यकक्षमा बायाँतर्फ राखिएको राष्ट्रिय झण्डा दायाँतर्फ राख्ने व्यवस्था मिलाउनुको साथै र सबै कार्यकक्षको टेवलमा पनि झण्डा राख्ने कार्यमा मेरो भूमिका रह्यो । ऐतिहासिक इस्मा कोटको ठूलो राष्ट्रिय झण्डा च्यातिएको अवस्थामा रहेकाले तोकिएको समयमा नयाँ झण्डा फेर्नको लागि समन्वय पनि गरे । कार्यपालिकाको कार्यालयमा तोकिएको तिथि, मिति र विधिवत रुपमा ठूलो आकारको झण्डा पुजन तथा परिवर्तन गर्ने काम पनि सोही समयमा भयो । नेपालको राष्ट्रिय गानको प्रयोग र प्रतिक चिन्हको प्रयोग र उपयोगमा पनि मैले विशेष ध्यान दिए । साविकमा लागू नभएकोले कार्यालय खुल्दा प्रत्येक दिनको ठिक १०ः०० बजे राष्ट्रिय गान बजाउने र सबै कर्मचारी सरिक भई सम्मान गर्दै आ–आफ्नो कार्यसम्पादनमा लाग्ने परम्पराको थालनी गरियो । गाउँकार्यपालिका बैठक तथा अन्य कार्यक्रम, सभा समारोहको शुरुमा राष्ट्रिय गान बजाई सम्मान गर्ने, गाउँपालिकाकामा रहेका पहिचानका विषयलाई समेटेर प्रतिक चिन्ह (लोगो) निर्माण गर्नका लागि सूचना जारी गरी अन्तिम रुप प्रदान काममा मेरो भूमिका रह्यो । कार्यपालिका बैठक सञ्चालन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रयास पनि गरे । गाउँसभा र कार्यपालिका बैठकहरू नियमित रुपमा बसे ता पनि स्थापनादेखि कति वटा सम्पन्न भए भन्ने साविकमा यकिन नभएको र धेरै निर्णयहरू सादा रजिष्टरमा अभिलेखीकरण भएकाले पनि बैंठक सञ्चालन र व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको हो । यस क्रममा सबै रजिष्टारबाट बैठकहरू एकत्रित गर्दै बैठक संख्या यकिन तथा पञ्जिका तयार गरी ठूलो रजिष्टरमा अभिलेखीकरण गर्ने, गाउँकार्यपालिका बैठकमा छलफल हुने प्रस्तावहरूसहितको पत्राचार गर्ने, बैठक संख्या सहितको व्यानर राख्ने, मञ्च र बसाई व्यवस्थापन, बैठकमा राष्ट्रिय गान र रोष्टमको प्रयोग तथा उपस्थिति र निर्णयहरू नेपाली कागजमा प्रिन्ट गरी उतिखेरै प्रमाणित गर्ने लगायतका व्यवस्था मिलाइएको छ ।

त्यस्तै गाउँपालिकामा रहँदा जानकारीमूलक बोर्ड, व्यानरको व्यवस्थापनलाई पनि विशेष चासोको साथ कार्यान्वय गर्ने काम गरें । कार्यालयमा जरुरी हुने सेवाप्रवाह सम्बन्धी न्यूनतम जानकारीहरू साविकमा नभएकाले त्यसको व्यवस्था गरिएको छ । क्षेत्रगत रुपमा देहाय अनुसारका सामग्री तयार पारी कार्यालय परिसर, कार्यालय ब्लक, बैठक/सभाहल, कार्यकक्षजस्ता आवश्यक स्थानमा टाँगिएको छ ।

क) कार्यपालिका कार्यालयको प्रवेशद्वारमा स्वागत बोर्ड तथा साईडमा पनि राखिएको ।

ख) गाउँपालिकाको पाँच वर्षे दीर्घकालीन सोंच/लक्षको बोर्ड प्रयोग ।

ग) गाउँसभाका तथा गाउँकार्यपालिकाका सदस्यहरूको फोटोसहितको बोर्डको प्रयोग ।

घ) गाउँपालिकाको मूख्य विषय झल्कने नक्सा राखिएको ।

ङ) प्रशासनिक कार्यालयमा नागरिक बडापत्र नराखिएकोले तयार पारिएको ।

च) साविकमा राखेको नपाइएकोले कार्यालयको बाहिरपट्टी राख्न सुभाव पेटिका ल्याइएको ।

यस्तै कर्मचारी बैठक, पोशाक र कार्यसम्पादनलाई पनि व्यस्थित गर्ने काम गरिएको छ । कार्यालयमा कुनै पनि बैठकहरूको नियमितता नदेखिएकोले प्रत्येक महिनाको १ गते सबै कर्मचारीहरूको बैठक, ३ गते वडा सचिवहरूको बैठक र ५ गते स्वास्थ्य संस्थाहरूको बैठक अनिवार्य रुपमा बस्ने व्यवस्था गरिएको छ । साविकमा कर्मचारी पोशाक र परिचय पत्र आंशिक लगाएको हुनाले एक रुपता हुने गरी परिचय पत्र र पोशाकको नियमित प्रयोग गर्ने, गराउँने सेवाप्रवाहमा कर्मचारीहरूलाई थप जिम्मेवार तथा उत्तरदायी बनाउनका लागि वडा सचिवहरू, शाखा प्रमुखहरू र अन्य कर्मचारीहरूसँगसँग कार्यालय प्रमुखले कार्यविवरणसहितको कार्यसम्पादन करार संझौता गरि वार्षिक मूल्याङ्कनमा आवद्ध गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै प्रकाशन सम्बन्धी व्यवस्था पनि मिलाइएको छ । गाउँपालिकाकाका विभिन्न संरचनाहरू, महत्वपूर्ण स्थानहरू, मूख्य गतिविधि तथा क्रियाकलापहरू, जानकारीमूलक सन्देशहरू लगायतका विषयवस्तु समेटेर २०७८ सालको भित्ते पात्रो पहिलो पटक प्रकाशन गरियो । गाउँपालिका क्षेत्रभरमा भए गरेका सम्पूर्ण कार्य प्रगति विवरणको सार्वजनिक गर्नका लागि पहिलो पटक प्रथम र दोस्रो चौमासिकको संयुक्त अंक इस्मा बुलेटिन वर्ष १, अंक १ (२०७७ श्रावणदेखि फाल्गुणसम्म) प्रकाशन गर्ने तयारी गरिएको छ । विभिन्न टेण्डरलगायतका सूचनाहरू पत्रिकामा प्रकाशन गर्दा लाग्ने शुल्क दरमा एकरुपता नभएकाले एकरुपता हुने गरी प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । सूचना प्रविधिमार्फत सार्वजनिकीकरण गर्ने कामको व्यवस्था पनि गरिएको छ । साविकमा प्रवक्ता र सूचना अधिकारीको आवश्यक जानकारी भएको बोर्ड राखेको नपाइएकोले राख्ने व्यवस्था मिलाई कार्यालयको वेभपेजमा पनि प्रवक्ताको विवरण थप गरिएको छ । कार्यालयको आधिकारिक वेभपेज अद्यावधिक गर्दै आवश्यक सूचना तथा जानकारीका लागि बढिभन्दा बढी मात्रामा प्रयोग गर्ने, गराउने व्यवस्था मिलाइएको छ । चालू आ.व.को समीक्षा र सार्वजनिक सुनुवाई नभएकोले द्विचौमासिक समीक्षा एकै पटक सम्पन्न गरिएको र सूचना प्रविधिको प्रयोग गरी सार्वजनिक सुनुवाई गर्ने तयारी गरिएको छ । इमेलमार्फत तालुक निकाय र मातहततका निकायहरूमा पत्राचार गर्नलाई अभिप्रेरित गरिएको । लेखापरीक्षण प्रतिवेदन र राजस्व संकलनकार्यलाई थप प्रभावकारी र पारदर्शी बनाउने काम गरियो । गत आ.व.को अन्तिममा लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनबाट औल्याइएका विषयहरू गम्भिरतापूर्वक विश्लेषण गरी नियमित गर्नु पर्ने र असुल उपर गर्नु पर्नेको सार संक्षेप विवरण तयार गरी प्राप्त भए अनुसार सम्परीक्षणका लागि फाइल पेश गरिएको । आ.ले.प. प्रतिवेदनमा उल्लिखित विषयको कार्यान्वयनका लागि नियमित तथा असुल उपर गर्नु पर्ने कार्यलाई प्राथमिता दिई अधिकांशलाई ताकेता गरिएको । आन्तरिक आय तथा राजस्व संकलनको विवरणलाई मासिक रुपमा सार्वजनिक गर्ने गरिएको । विभिन्न प्रतिवेदन र प्रगति विवरणलाई थप प्रभावकारी बनाइयो । कार्यपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू लगायतमा विभिन्न समयमा खरिद गरिएका, मर्मत गरिका वा गर्नु पर्ने र लिलाम गर्नु पर्ने विषयमा विगत वर्षदेखि हालसम्म जिन्सी निरीक्षण गरेको प्रतिवेदन नपाइएकाले निरीक्षण अधिकारी तोकी कार्य आरम्भ गरिएको । साथै जिन्सी सामानको प्रयोग र उचित व्यवस्थापनका गर्ने व्यवस्था मिलाइएको ।

- स्थायी कर्मचारीहरूको वार्षिक रुपमा तलवी प्रतिवेदन पारित गरी तलव भत्ता भुक्तानी गर्नु पर्नेमा विगत वर्षहरूदेखि नै हालसम्म नगरेको पाइएकोले आवश्यक तयारी गरिएको ।

- कार्यालयका सबै शाखा, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरूलगायतलाई आ–आफ्नो मासिक, त्रैमासिक, चौमासिक र वार्षिक प्रतिवेदन तोकिएको समयमै बुझाउने व्यवस्था मिलाइएको । कार्यालय व्यवस्थापन र कार्ययोजना तर्जुमाका लागि कार्यकक्षहरूमा पर्दाहरू नराखिएकोले एक रुपता कायम हुने गरी राख्न लगाइएको । कार्यपालिका कार्यालयको अगाडि पट्टीको सटर र नगर प्रहरी कक्षमा आल्मुनियम पार्टेशन गरी कार्यालयलाई थप व्यवस्थित गरिएको । नियमित कार्यसम्पादन र सेवाप्रवाहलाई थप व्यवस्थित गर्नका लागि चालू र आगामी आ.व.को कार्ययोजना तथा कार्यतालिका निर्माण गरि सोही अनुसार गर्ने गराउँने व्यवस्था मिलाइएको ।

कोभिड अस्पतालका लागि आवश्यक सामग्री तथा औषधीहरू खरिद गर्न लगाई आवश्यक व्यवस्थापन गरिएको । कार्यालय अगाडि सजावटका लागि स्थानीय गमलासहितका फुलहरू राखिएको । त्यस्तै सार्वजनिक खरिद र परीक्षा प्रणालीमा सुधार गर्ने काम गरिएको छ । जहाँ कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने वस्तु, सेवा तथा परामर्श खरिदका लागि सार्वजनिक खरिद ऐन, नियम अनुसार खरिद इकाई तथा मूल्याङ्कन समिति गठन गरी कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको, साविकमा एउटा मात्र डबल क्याव सवारी साधन भएको र कार्यालयको प्रयोजनार्थ अति आवश्यक भएकोले बन्द बोडी सवारी साधन भाडामा संझौता गरी सञ्चालनमा ल्याइएको, विभिन्न प्राविधिक पदहरूको परीक्षा रोकिएकोमा लोकसेवा आयोगको सिद्दान्तमा आधारित भई उक्त परीक्षा तथा अन्य परीक्षाहरू तोकिएको समयमै निष्पक्ष ढंगबाट सुसम्पन्न गरिएको छ । यस्तै शिक्षा क्षेत्रमा सुधारात्मक आरम्भ गरिएको छ । जहाँ शिक्षक, शिक्षिका तथा विद्यालयका कर्मचारीहरूको साविकमा चौमासिक रुपमा तलव भत्ता भुक्तानी गरिदै आएकोमा अन्य कर्मचारीको जस्तै मासिक रुपमा भुक्तानी गर्न शुरु गरिएको, प्रत्येक महिनाको ७ गते प्रधानाध्यापकहरूको बैठक बस्ने गरिएको, विद्यार्थीहरूलाई ऐतिहासिक तथा स्थानीय महत्त्व र विशेषता बोकेका स्थलको बारेमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रम तर्जुमा समिति गठन गरिएको, विभिन्न तहका शिक्षकहरूको परीक्षा रोकिएको अवस्थामा लोकसेवा आयोगको सिद्दान्त अनुसार तोकिएको समयमै निष्पक्ष ढङ्गबाट सम्पन्न गर्नमा आवश्यक सहजीकरण गरिएको छ । प्रवेशद्वारको जिर्णोद्वार र पार्किङ्ग स्थल किटान गर्ने काम गरिएको छ । इस्मारजस्थल स्वास्थ चौकीको भवनलाई गाउँपालिका कार्यालयले बैठक/सभाहल, ग्यारेज र निवासको रुपमा प्रयोग गरेकोमा उक्त संस्थाको प्रवेशद्वारको भुई भत्किएर जिर्ण भई अप्ठेरो भएकोले सोलिङ्ग र ढलान गरी जिर्णोद्वार गरिएको छ । साँघुरो मोटर बाटोको किनारमै रहेको कार्यालयको सामुन्ने थुप्रै बाइकहरू पार्किङ्ग गर्ने गरिएकोमा केही अगाडि निजी जग्गामा पार्किङ्ग स्थल निर्माण गरी प्रयोगमा ल्याइएको छ । मालपोत, प्रशासन र सुरक्षा सम्बन्धी अभिमुखीकरण गर्ने काम गरियो । सेवाग्राहीहरुको सेवालाई सरल, सहज र सहुलियतपूर्ण बनाउँनका लागि विशेषगरी जिल्ला प्रशासन र जग्गा प्रशासन सम्बन्धी उक्त कार्यालयका प्रमुखहरूको उपस्थितिमा वडा अध्यक्ष तथा वडा सचिवहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न,सुरक्षा निकायका जिल्लास्तरीय प्रमुखहरूबाट शान्ति, सुरक्षा र सुव्यवस्थाका सम्बन्धमा पनि थप अन्तरक्रिया सम्पन्न गरियो । वर्षको शुरुवात देखि नै बरामद गरिएको ४ लाख बढीको अवैध मदिरा नष्ट, अग्नि नियन्त्रक सिलिण्डरहरु कार्यालय, सबै वडा र सबै स्वास्थ्य संस्थामा राखिएको, बजेट तथा कार्याक्रम निर्मााणका लागि विषयगत समितिहरुको बैठक आयोजना, अन्तिम भुक्तानीलाई समयमै सम्पादन गर्ने व्यवस्था लगायतका कामहरु म कार्यालयल प्रमुख हुदाँ  गरेका केही देखिन लायक कामहरु हुन् । यस अवधिमा सम्पादन गरिएका कार्यहरूमा विभिन्न तरिकाले सघाउने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही लगायतलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।

(लेखक हाल –बगनासकाली गाउँपालिका पाल्पामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत छन् । )

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update