Shittalpati
पर्यटन पुनरुत्थानमा ध्यान देऊ

कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन सकेको छैन । जसले गर्दा अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रहरू भने अप्ठेरोमै छन् । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउँदै २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अगाडि सारेको थियो । तर, कोभिड–१९ महामारीका कारण सरकारी योजना तीन महीनामै स्थगित भयो । महामारीले पर्यटन व्यवसाय ठप्प नै भयो ।


अहिले जनजीवन सामान्य बन्दै गएको भए पनि पर्यटन क्षेत्रले गति लिन सकेको छैन । कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । खोपले पनि वातावरण केही सहज बनाउदै लगेको छ । केही महीनायता सबै क्षेत्र पुरानै लयमा फर्किसकेका छन । तर, पर्यटन क्षेत्रको अवस्था भने उस्तै छ । अहिले पनि नेपाल भित्रिने पर्यटकको संख्या न्यून छ । यो समयमा विगतका वर्षहरूमा मासिक एक लाखभन्दा बढी पर्यटक आउँथे । तर अहिले त्यस्तो अवस्था भने छैन । कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण वि.सं. २०७६ को चैतदेखि अन्य देशहरूमा झैं नेपालको पर्यटन व्यवसायमा पनि ग्रहण लाग्यो । कोभिडको प्रकोप विश्वभर भए पनि विभिन्न देशहरूले अन्य आर्थिक गतिविधिलाई सुरक्षित रूपले जारी राखे । परिस्थितिअनुसार स्वास्थ्य र सुरक्षा मापदण्डहरू अपनाउँदै आर्थिक गतिविधिहरू र अर्थतन्त्रको तौरतरिका बदलेर कतिपय देशहरूले यही प्रकोपको दौरानमा ठूलो फड्को मारेका छन । तर, हाम्रो देशमा भने पर्यटन गतिविधि र जनजीविकालाई एकाएक पूर्ण रूपमा रोकियो । जसले गर्दा अहिलेसम्म पनि पर्यटन व्यवसाय चलायमान हुन सकिरहेको छैन । यो आफैमा दुखद् विषय हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जनजीविका तथा देशको अर्थतन्त्र चलायमान गराउन सुरक्षित वैकल्पिक तरिका अवलम्बन गर्न सक्ने अवस्था रहे पनि सम्बन्धित निकायले चासो देखाउन सकेको छैन । अब पनि यस्तै तरिकारले अगाडि बढ्ने हो भने पर्यटन क्षेत्रले कहिल्यै पनि गति लिन सक्दैन । आयात र भुक्तान सन्तुलनका लागि आवश्यक पर्ने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको पर्यटन व्यवसायलाई वेवास्ता गर्ने हो भने देशले ठूलो आर्थिक भार व्यहोर्नु पर्ने हुन सक्छ । यसर्थ सम्बन्धित निकायले पर्यटनलाई पुनर्जीवन दिनका लागि पर्यटक आगमन तथा भ्रमणको हालको विद्यमान व्यवस्थामा तत्काल सुधार गरेर अगाडि बढ्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update