Shittalpati
कोरोनाको जोखिम र सरकारको तयारी

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले पूर्व तयारी तीव्र पारेको छ । नेपाल पनि कोरोना भाइरसको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको अवस्थामा भ्रमण वर्ष सान्दर्भिक नहुने भएकाले यसलाई स्थगित गरेर कोरोना जोखिमबाट बच्ने गरी सरकारले पूर्व तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको सम्भावित जोखिमबाट बच्न पर्यटन वर्षलाई स्थगित गरी आवश्वक तयारी थाल्न मन्त्री परिषदमा प्रस्ताव गरेका छन् । देशमा फैलिसकेका कारण विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन होइन निरुत्साहित गर्नुपर्ने बेला आइसकेको सुझाव विज्ञहरूले समेत दिइएरहेका छन् । अहिलेसम्म नेपाल कोरोना भाइरस मुक्त रहेका कारण विदेशी पर्यटकहरू आउन चाहिरेको पर्यटन व्यवसायीको तर्क छ ।

यो तर्क पनि नाजायज होइन, तर कोरोना भाइरसबाट संक्रमित एक जना पर्यटक मात्रै नेपाल छिर्‍यो भने पनि भयावह अवस्था हुन सक्छ । त्यसैले सरकारले गर्न लागेको यो निर्णय स्वागत योग्य छ । नेपालमा यदि कोरोना भाइरसका बिरामी भइहाले भने ल्याबको अभाव, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य संस्था भरपर्दो नभएको र औषधि त विश्वकै खोजीको विषय भएको अवस्थामा नेपालले निरपेक्ष ढङ्गले पर्यटक बोलाउन सक्दैन । पर्यटन वर्ष सफल बनाउने नाममा जथाभावी पर्यटकलाई निमन्त्रणा दिनु गलत हुन जान्छ । पर्यटक नआउँदैमा हामी मर्दैनौं, तर कोरोना आयो भने हामीलाई बाँच्न निकै मुस्किल हुन्छ । यसर्थ पनि केही समयका लागि भ्रमण वर्ष स्थगित गर्नु उपयुक्त हुन जान्छ ।

नेपाल भ्रमण वर्ष २०२० को तयारीका लागि सरकारले धेरै समय र वजेट खर्च गरिसकेको छ । निजी क्षेत्रबाट पनि पर्यटकीय पूर्वाधार निर्माणका लागि निकै ठूलो बजेट खर्च गरिएको छ । तर कोरोना भाइरसका कारण गरिएको लगानी बालुवामा पानी जस्तै भएको छ । भ्रमण वर्षाका लागि निजी क्षेत्र र सरकारी क्षेत्रबाट ठूलो लगानी भएको छ । जुन उत्साहका साथ लगानी कर्ताले सोही अनुरुप हुन सकेन, यो अत्यन्तै दुखको कुरा हो । यो समस्याप्रति सरकारले बेलैमा राहतका कार्यक्रम ल्याउनु पर्छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै जुन जुन व्यवसायीहरूले पूर्वाधार निर्माणमा लगानी गरेका छन् त्यसको व्याजको केही प्रतिशत अनुदान दिने र आतन्तरिक पर्यटनको प्रवद्र्धनका लागि कार्यक्रम तर्जुमा गर्ने तर्फ सरकारले अब बेलैमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update