Shittalpati
पर्यटक पर्खंदै लुम्बिनी

निरा गौतम (रासस)

रुपन्देही, कोरोनाको महामाहरी नभइदिएको भए यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक अटाई–नअटाई हुने थिए । एक त लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र, अर्काे कुरा नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले नेपाल आएका विदेशी पर्यटकमध्ये अधिकांश त कम्तीमा एकपटक लुम्बिनी पुग्ने चाहना राख्थे नै । यी सबै सम्भावनाहरुलाई विश्वभर फैलिएको महामारीले असम्भव बनाइदिएको छ । त्यसैले यतिखेर विश्वप्रसिद्ध यो पवित्रस्थल पर्यटक पर्खिएरै बस्न बाध्य छ । नेपाल करिब डेढ वर्षयतादेखि ठप्प प्रायः नै छ । कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि बन्दाबन्दीमा पुगेको देश अझै पूर्ण रुपमा खुल्न सकेको छैन । महामारी फैलिएसँगै बन्द भएको लुम्बिनी पनि पूर्ण रुपमा खुल्न नपाई फेरि बन्द हुन पुगेको छ । महामारीको दोस्रो लहरपछि साउन २७ गते बिहीबारदेखि लुम्बिनी पुनः खुलेको छ । लुम्बिनी खुले पनि यहाँ आउने विदेशी पर्यटकका उडान या अरू पहुँचहरु भने बन्द नै छन् । जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर प्रवेश गर्न दिइने भएपछि मन्दिर खुल्ला गरिएको हो । कोरोना महामारीलाई ध्यानमा राखेर विस्तारै अन्य विहारसमेत खोल्नका लागि अनुरोध गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

मायादेवी मन्दिर पूर्णरुपमा खुलेपछि यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । मायादेवी मन्दिर खुल्ला भएसँगै आन्तरिक पर्यटकहरु लुम्बिनी आउने क्रम सुरु भएको लुम्बिनी होटेल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए । पर्यटकहरुको आवागमनलाई ध्यानमा राख्दै पर्यटन व्यवसायीले पनि आफ्ना व्यवसायलाई पुनः व्यवस्थित तरिकाले सञ्चालन गरेको उनको भनाइ छ । ‘कोरोना महामारीलाई ध्यान दिएर स्वास्थ्य मापदण्ड पालन गरी पर्यटकलाई सेवा दिएका छौँ,’ उनी भन्छन् । होटेल संघका अनुसार लुम्बिनीमा साना–ठूला गरी ८० भन्दा बढी होटेल छन् ।

कोरोना महामारी फैलिएसँगै आन्तरिक तथा बाह्य पर्यटक आवागमन बन्द भएपछि लुम्बिनी सुनसान जस्तै रह्यो । महामारीअघि लुम्बिनी आउने पर्यटकको संख्या प्रत्येक वर्ष बढ्दै गएको थियो । सन् २०१२ मा सात लाख पर्यटक आएको लुम्बिनीमा सन् २०१९ सम्म आइपुग्दा १६ लाख पर्यटक आएका थिए । पर्यटक आवागमनको रफ्तार बढिरहेका बेला कोरोना महामारीले लुम्बिनी पछिल्लो डेढ वर्ष करिब सुनसान जस्तै रह्यो । यद्यपि, कोरोनाको पहिलो लहर सकिएर दोस्रो लहर सुरु हुनुअघिको बीचको समयमा स्वदेशीसहित करिब तीन लाख पर्यटकले लुम्बिनी घुमे । त्यही बीचमा दुई सय ५३ जना विदेशी पर्यटक आए भने ५० हजारको हाराहारीमा भारतीय पर्यटकले लुम्बिनी घुमे । बाँकी स्वदेशी पर्यटक थिए । नेपालमा बन्दाबन्दी खुले पनि उक्त समय संसारका थुपै्र देशमा लकडाउन कायमै थियो भने कतिपय देशमा महामारीले अर्को रुप लिँदै थियो । त्यसका बाबजुद पनि यो वर्ष ब्राजिलका ५०, जर्मनीका १७, फ्रान्सका १६, रसियाका २३ र अमेरिकाका ३० जना विदेशी पर्यटकले लुम्बिनी घुमेका छन् । महामारीबीच तीन लाख पर्यटकले लुम्बिनी घुम्नु सामान्य विषय होइन यसले लुम्बिनी घुम्न पर्यटकहरु लालायित छन् भन्ने देखाएको छ । दोस्रो लहरपछि लुम्बिनी खुले पनि भर्खरै विदेशी पर्यटकहरु आउने सम्भावना छैन । भारत र नेपालमा तेस्रो लहरका संकेतहरु देखिएका छन् । युरोप, अमेरिका लगायतका मुलुकमा संक्रमणको नयाँ लहर देखिन थालेको छ । लुम्बिनी आउने पर्यटकको ठूलो स्रोत मानिने श्रीलङ्कामा पनि संक्रमण कायमै छ ।

लुम्बिनी आउने पर्यटकको ठूलो स्रोत मानिने चीन, म्यान्मा, श्रीलङ्का र थाइल्यान्ड जस्ता बौद्ध मुलुकहरुले भ्रमणका लागि आफ्ना नागरिकलाई बाहिर जान अनुमति दिएका छैनन् । दोस्रो लहरले नेपाललाई आक्रान्त पारेको खबर संसारभर फैलिएका कारण पनि तत्काल पर्यटकहरु घुम्न आउने सम्भावना निकै कम रहेको कोषका सूचना अघिकृत राजन बस्नेत बताउँछन् । रुपन्देही, नवलपरासी र कपिलवस्तुका पर्यटकबाहेक बाहिरी जिल्लाका पर्यटकहरु निकै कम आएको उनको भनाइ छ । यद्यपि, कोरोनाविरुद्धकोे खोप अभियान चलिरहेकाले तेस्रो लहरले उग्ररुप नलिए भारतीय र स्वदेशी पर्यटक आउने आशा व्यवसायीलाई छ । अब लुम्बिनी घुम्ने यामसमेत सुरु हुने बेला भएकाले तयारी गरिएको व्यवसायीहरु बताउँछन् । पर्यटक आउने आशामा कोरोना संक्रमणको रोकथामका लागि होटेलहरुलाई पटकपटक स्यानिटाइजेशन गर्ने, पहिलाको तुलनामा सरसफाइलाई बढी जोड दिने, कोठा तथा हातको प्रयोग हुने सामग्रीमा स्यानिटाइजेशन गर्ने काम भइरहेको छ । राम्रो सरसफाइ गरी होटेल, माला, पसल तथा अन्य व्यवसायलार्ई चिटिक्क पारेर पर्यटकहरुलाई स्वागत गरिएको लुम्बिनी पर्यटन व्यवसायी संघका सचिव पिन्टु बनियाले बताए । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि ट्राभल एजेन्सीहरु पनि प्रभावित छन् । छोटो दूरीका सवारी साधन तथा होटेलमा सामान्य बुकिङ भए पनि तेस्रो चरणको कोरोनाको प्रभाव यकिन गर्न नसक्दा व्यवसाय प्रभावित भएको नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्ट लुम्बिनी प्रदेश उपाध्यक्ष रचना पन्तले बताइन् । सरकारले पर्यटन प्रवद्र्धनका लागि कर्मचारीलाई १० दिन बराबरको पारिश्रमिक रकमसहित पर्यटन काज बिदा दिने निर्णयले पर्यटन व्यवसायी हौसिए पनि कोरोनाको प्रभाव नहराएका कारण व्यवसाय लयमा फर्कन नसकेको उपाध्यक्ष पन्तको भनाइ छ ।

लामो समयपछि पर्यटकहरु आउँदा उनीहरुलाई केही नौलो अनुभूति होस् भन्नका लागि सौन्दर्यसम्बन्धी काम गरिएको छ विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी)ले बताए । ५ नं प्रवेशद्वारबाट मायादेवी मन्दिर जाने सडकको दुवैतिर लहरै राखिएका इटालियन पोलमा बालिएका बत्ती रातिको समयमा मनमोहक देखिन थालेका छन् । यसअघि रातिको समयमा लुम्बिनी भ्रमण असहज रहेकामा बत्तीको व्यवस्थाले लुम्बिनी भ्रमण निकै सहज भएको छ । मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर विभिन्न ठाउँमा फूल फुलाइएको छ । पवित्र कुण्ड सफा गरिएको छ । माटो भरेर प्राचीन बोधी वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पुरातात्विक संरचनाहरुको मर्मतसम्भार गरिएको छ । मायादेवी मन्दिरदेखि शान्तिदीप जाने सडकका दुवै किनारामा पनि इटालियन पोलसहितका सडक बत्ती जडान गरेर आकर्षक बनाइएको छ । केन्द्रीय नहरको पानी सफा बनाइएको छ भने दुवैतिर टुटेफुटेका इँटा मर्मत गरेर चिटिक्क पारिएको छ । इँटा छापेर बनाइएका सडक, बत्ती, फूल र सफा गरिएको पानीमा त्यसको प्रतिबिम्ब निकै मनमोहक देखिन थालेको छ । यस्तै गुरुयोजनको लुम्बिनी ग्राम क्षेत्रभित्र फलफूलका बिरुवा रोपेर हुर्काइएको छ । करिब सम्पन्न हुन थालेको पाँच हजार अट्ने सभाहलले लुम्बिनीको आकर्षण थपेको छ । पर्सादेखि लोखडिया चोकसम्मको सडकको दुवैतिर बगैँचा निर्माण गरेर सिङ्गार्न थालिएको उपाध्यक्ष मेत्तेयले बताए । यसले पर्यटकलाई थप आकर्षण गर्ने छ । पवित्र उद्यान क्षेत्र घेर्ने परिक्रमा पोखरी सफा गरेर सौन्दर्यसम्बन्धी कामसमेत भइरहेको छ । सौन्दर्यसम्बन्धी कामसँगै अन्य पूर्वाधार निर्माणका कामसमेत अहिले भइरहेका छन् । महामारी पूर्ण रुपमा अन्त्य भएपछि आउने स्वदेशी विदेशी पर्यटकले लुम्बिनीमा फरक अनुभूति गर्ने गरी लुम्बिनी सिङ्गार्ने काम भइरहेको विकास कोषले जनाएको छ । –रासस

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update