Shittalpati
मनसुन सक्रिय : सतर्कता अपनाऔं

बिहिबार रातीदेखि निरन्तर परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् । मनसुनी वायुको प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वनुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले मनसुन थप सक्रिय बनेको हो । मनसुन सक्रिय भएकाले नदीको बहावले सतर्कता तह पार गर्न सक्ने भएकाले पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ ।


जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने बताएको छ । मनसुन सक्रियतासँगै नदी तथा खोलाहरुमा जल प्रवाह उल्लेख्य बढ्ने र आकस्मिक बहाव भई तराई क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ । केही ठाउँमा मेघ गर्जन÷चट्या·सहित भारी÷धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ । निरन्तर बर्षाका कारण नेपालका अधिकांस स्थानको जनजीवन प्रभावित समेत बनेको छ । हरेक वर्ष मानिसले यि र यस्ता प्राकृतिक प्रकोपसँग पैँठेजरी खेल्दै आएको छ । धेरैको प्राकृतिक प्रकोपका कारण ज्यान गएको छ भने कतिको घरबार नै गुमेको छ । प्रकोप बाजा बजाएर आउँदैन, कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । तर यसतर्फ पूर्व सतर्कता अपनाउन सकियो भने केही हदसम्म बच्न र बचाउन भने सकिन्छ । नेपाल सरकारले प्राकृतिक प्रकोप न्यूनीकरणका विभिन्न उपायहरू कार्यान्वयन गर्ने जनाए तापनि व्यवहारमा भने लागू हुन सकिरहेको छैन । प्राकृतिक प्रकोपको कुनै समय र सीमा हुँदैन तापनि विश्वमा समय–समयमा आउने भुइँचालो, तुफान, ज्वालामुखी, बाढीपहिरोे, आँधीबेहेरी, अतिवृष्टि, अनावृष्टि र संक्रामक रोगहरूजस्ता प्रकोपहरूबाट बर्सेनि थुप्रैको संख्यामा जनधनको क्षति भएका र लाखौंको संख्यामा घरबारबीहिन र घाइते भएका घटनाहरू घटि नै रहेका छन् । प्राकृतिक प्रकोपले मानव जीवनलाई नै तहसनहस गर्ने गर्छ, जुन प्रकोपहरू आकस्मिक र भयंकर हुने गर्छन् । यसर्थ मनसुन सक्रिय बन्दै गएकाले त्यसबाट हुन सक्ने क्षतिका बारेमा पहिले नै उच्च सतर्कता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update