Shittalpati
एमालेको औपचारिक विभाजन

नेकपा एमालेको विभाजनले औपचारिकता पाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगबाट वैधता पाएसँगै नेकपा एमालेको विभाजनले औपचारिकता पाएको हो । नेकपा एमाले विभाजन गरी आयोगमा दर्ताका लागि निवेदन दिएको नेपाल नेतृत्वको पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ ।


लामो समयदेखिको अन्तरविरोधका कारण बुधबार एमाले औपचारिक रूपमै विभाजित भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति नेपाल समूह असन्तुष्टि बन्दै आएको थियो । अन्ततः असन्तुष्टिकै कारण एमाले विभाजन हुन पुगेको हो । १५ वर्ष पार्टीको नेतृत्व सम्हालेका माधवकुमार नेपाल अन्ततः औपचारिक रूपमै नेकपा एमालेबाट बाहिरिन पुगेका छन् । नेकपा माले हुँदै एमालेको राजनीतिमा पाँच दशकभन्दा बढी समय बिताएका नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्दै बाहिरिएका हुन् । नेपालले एमालेमा अध्यक्ष केपी शर्मा ओलीको अराजकता बढेको, ओली प्रतिमगनतिर गएको र पार्टी कब्जा गर्न प्रयात्नरत भएको भन्दै नयाँ पार्टी गठन गर्न पुगेका हुन् । नेकपा एमालेको महासचिव भएर १५ वर्ष काम गरेका नेपाल लामो समय नेतृत्व गरेको पार्टी छाडेर औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष बन्न लागेका छन । नेपाललाई झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल लगायत एमालेका पुराना तथा प्रभावशाली नेताहरूको साथ रहेको छ । कोही कसैलाई संगठन वा पार्टी भित्र बस्न मन नलागेमा अर्को नयाँँ पार्टी खोल्न पाउने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुरुप नै नेपालले नयाँ पार्टी गठन गरेका हुन । यसलाई अन्यथा लिनु हुँदैन । तर एमाले विभाजनले अन्य संगठनलाई भने फाइदा नै पुग्ने देखिन्छ । खास गरि ठूला दुई पार्टी काँगेस र माओवादी केन्द्रलाई फाइदा पुग्ने पक्क छ । धेरैकुरा नेपालले निर्माण गरेको नयाँ दलले कस्तो संगठनात्मक आकार लिन्छ त्यसमा पनि भरपर्छ । अहिले नेपाल करिब २० प्रतिशतको मात्र हाराहारिमा केन्द्रीय सदस्य र सांसदहरू लिएर नयाँ दल गठन गरेका छन् । नेपाललाई लामो समयदेखि साथ दिइरहेका दोस्रो पुस्ताका नेताहरूले साथ छोडेर एमालेमै बसेका छन् । त्यसैले अब एमालेको विभाजनले कस्तो आकार र कसलाई कति फाइदा हुन्छ त्यसको लेखाजोखा यसैवर्षको अन्त्यबाट हुने स्थानीय निकायको चुनावले एउटा संकेत दिनसक्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update