बुटवल, आगामी बैशाख ४ र ५ गते प्रदेश पाँचमा हुन गइरहेको लगानी सम्मेलन स्थगित भएको छ । कोरोना भाइरसको उच्च जोखिमका कारण लगानी सम्मेल स्थगित भएको हो । सोमबार बसेको प्रदेश पाँच सरकारको मन्त्रिपरिषदको बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारको लगानी सम्मेलन सहित प्रदेशको १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजनिक कार्यक्रम नगर्ने र हुन नदिने निर्णय समेत गरेको छ । मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले संघीय सरकारको निर्णय कार्यान्वयन गर्ने निर्णय सहित प्रदेश सरकारको लागानी सम्मेलन समेत स्थगित गरिएको जानकारी दिए । उनले लगानी सम्मेलनमा विदेशी पाहुनाहरु समेत सहभागी रहने भएको हुँदा लगानी सम्मेलन स्थगित गरिएको बताए ।
भाईरसको विश्वभरीको अवस्था हेरी उपयुक्त समयमा लगानी सम्मेलन गरिने मन्त्री चौधरीले बताए । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको छ, सोही कारण उच्च सतर्कता अपनाउन थालिएको प्रदेश सरकारले जनाएको छ । संघीय सरकारले कोरोनाबाट बच्नको लागि प्रयासहरु अगाडि बढाएपछि प्रदेश पाँचले पनि यस तर्फ ध्यान दिएको हो । बैठकले प्रदेश विज्ञान प्रविधि स्थापना र सञ्चालन गर्न बनेको अवधारण पत्र सैद्धान्तिक स्वकृति प्रदान गरेको छ । मन्त्री परिषदले भौतिक पूर्वाधार मन्त्रालयले तयार गरेको सडक निर्माण, मर्मत तथा सुधार गर्न बनेको विधेयक स्वीकृति गर्नुका साथै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साझेदारी नियमावलीलाई स्वीकृत दिएको मन्त्री चोधरीले जानकारी दिए । बैठकले प्रादेशिक साहित्य कला प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारण पत्रमा सैद्धान्तिक स्वीकृति समेत प्रदान गरेको छ ।


