Shittalpati
मेडिकलको लापरवाहीले बुटवलमा पाल्पाकी एक महिलाको मृत्यु

पाल्पा, मेडिकलहरुको लापरवाहीले बुटवलमा जिल्लाको बगनासकाली गाउँपालिका –२ की गिता पाण्डेको मृत्यु भएको छ । १२ हप्ताको बच्चा पेटमा अस्वस्थ भएको भन्दै गर्भपतनको लागि बुटवलमा पुगेकी उनको ३ वटा क्लिनिकमा उपचार गर्दा गर्दै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

पाण्डे बैशाख ५ गते आफ्ना श्रीमान् सहित बुटवल गएकी थिइन् । उनी सुरुवाती चरणमा खत्री नर्सिङ्गहोम (मेडिकल) हल ईट्टाभट्टीमा उपचारको लागि गएकी थिईन् । त्यहाँ गर्भपतन गराउनको लागि स्वास्थ्यकर्मीले औषधी चलाएका थिए । त्यसपछि त्यहाँ गर्भपत हुने सम्भावना नभएपछि उनलाई बुटवल हस्पिटल लाइनमा रहेको जोनल फार्मेसी (क्लिनिक) मा लगिएको थियो । त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि सोही स्थानमा रहेको ईन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ पनि उनको औषधी चलाएर गर्भपतन गराउने प्रयास गरिएको पाइएको छ । उनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पतालमा लगिएको थियो । अस्पतालमा  लगिएकोमा उनको मृत्यु भएको  जनाइएको छ ।

मृत्युको विषयलाई लिएर प्रहरीले तत्काल ३ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । स्रोतका अनुसार खत्री नर्सिङ्गहोमका सन्ध्या बस्नेत, जोनल क्लिनिकका निलम घर्तीमगर र ईन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाइएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार महिलाको मृत्यु भएपछि श्रीमानले उचित कारबाहीको लागि प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update