Shittalpati
विज्ञापनसम्बन्धी निर्णय फिर्ता लिन पत्रकार महासंघ पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

पाल्पा,नेपाल पत्रकार महासंघ पाल्पा शाखाले सरकारी विज्ञापन निजी क्षेत्रको सञ्चार माध्यामलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाएको छ । बिहीवार महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत सो निर्णय फिर्ता लिन दवाव दिँदै प्रधानमन्त्री साहलाई ज्ञापन पत्र बुझाएको हो ।

महासंघले उक्त आपत्तिजनक परिपत्र तत्काल फिर्ता लिन ज्ञापनपत्रमार्फत सरकारसँग माग गरेको छ । २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णयको परिपत्र जारी गर्दै प्रधानमन्त्री कार्यालयले सबै सरकारी सूचना र विज्ञापन केवल सरकारी सञ्चारमाध्यमहरू, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्रै प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको  थियो । महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारको यो कदमलाई राज्यको चौथो अंगमाथि गरिएको प्रहारको रुपमा लिइएको उल्लेख छ । महासंघले सरकारको यो कदमले निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमलाई धराशयी बनाउने र स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने ठहर गरेको छ । ज्ञापनपत्रमा कोरोना महामारी र पछिल्लो समय जेन–जी आन्दोलनका कारण आर्थिक संकट झेलिरहेका निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउनु अन्यायपूर्ण भएको उल्लेख छ ।

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने निर्देशनात्मक परिपत्रले नेपाली आमसञ्चारमाध्यमको बहुसंख्यक हिस्सा ओगटिरहेका निजी तथा सामुदायिक सञ्चारमाध्यमप्रति गम्भीर विभेद र अन्याय भएको महासंघको ठहर छ । सरकारी निर्णय र परिपत्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यास, नेपालको संविधानमा लिपिबद्ध पूर्ण प्रेस स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक, स्वतन्त्र पत्रकारिता, खुला अर्थ नीति र संघीयताको मर्मविपरित रहेको महासंघ पाल्पा शाखाले जनाएको छ । सरकारको सो निर्णयसंविधान, कानून र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएकाले त्यसलाई कार्यान्वयनमा नलैजान दवाव दिने उद्देश्यले पाल्पासहित देशैभरका महासंघका शाखाहरुबाट प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाइएको पाल्पा शाखाका अध्यक्ष तिमिल्सेनाले बताए । श्रमजीवी पत्रकारको नियमित पारिश्रमिक र सेवा–सुविधा सुनिश्चित गर्ने तथा सरकारी विज्ञापनमा हुने चुहावट रोक्ने यथोचित प्रवन्ध मिलाउदै तत्काल विज्ञापनसम्बन्धी विभेदकारी निर्णय खारेज गरी सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न महासंघले जोडदार माग गरेको छ । माग पूरा नगरी महासंघलाई आन्दोलित हुने वातावरण सिर्जना नगर्नेतर्फ सम्माननीय प्रधानमन्त्रीज्यूबाट सकारात्मक पहल हुने विश्वास महासंघले लिएको छ ।

सरकारको सो निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति सिर्जनाभएको  शाखाका सचिव रामचन्द्र रायमाझीले बताए । आवाजविहीनको आवाज बनिरहेको स्वतन्त्र पत्रकारितामा प्रत्यक्ष असर परी प्रेस सेन्सरसिपको अवस्था निम्तिने सक्ने भन्दै देशभरबाटै पत्रकारहरु आन्दोलित हुनुपरेको उनले उल्लेख गरे । ज्ञापनपत्र बुझाउ पाल्पाली पत्रकारहरुको टोली विहीबार जिल्ला प्रशासन पुगेको थियो । महासंघका अध्यक्ष तिमिल्सेनाले उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुंवरलाई हस्तान्तरण गरेका हुन् । प्राप्त ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कुंवरले सो पत्र तत्काल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा जस्ताको त्यस्तै पठाइदिने बताइन् । सरकारको विभेदकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै देशैभरका महासंघका शाखाहरुले एकै साथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।  

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update