Shittalpati
भूकम्पको ११ वर्ष

विनाशकारी गोरखा भूकम्प गएको ११ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते दिनको १२ बजे नेपालमा ठूलो भुइँचालो गएको थियो । यसलाई मध्यनजर राखेर प्रत्येक वर्ष वैशाख १२ गतेलाई सम्झने गरिन्छ । यस वर्ष पनि शनिबार भूकम्पको स्मरण गरिएको छ । त्यति बेला भूकम्पले झण्डै नौ हजार नेपालीको ज्यान लिएको थियो । उक्त भूकम्पका कारण लाखौंको संख्यामा निजी घरहरु ध्वस्तसमेत भएका थिए । विद्यालयदेखि स्वास्थ्य संस्थाहरुसम्मलाई क्षतविक्षत बनाउन पुगेको उक्त भूकम्पले झण्डै एक हजारको संख्यामा पुरातात्विक सम्पदाहरुलाई नोक्सान पुर्‍याएको थियो । त्यसबेला भत्किएका भौतिक संरचनाहरु आज पनि पूर्णरुपले ठडिएका छैनन् । त्यस दिनको त्रासदी नेपालीको मन–मस्तिष्कबाट अझै हराएको छैन । नेपाल भूकम्पीय जोखिमका दृष्टिले उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् । 

जोखिम उच्च भएका आधारमा त्यसबाट बच्न र न्यूनीकरण गर्न आधिकारिक निकायबाट ठोस पहल भएको छैन । २०७२ सालमा देशले भोगेको महाविनाशकारी भूकम्पलाई हरेक वर्ष स्मरण गर्ने गरिए पनि त्यस जोखिमलाई न्यूनिकरण गर्ने दिशामा भने कसैको पनि ध्यान जान सकेको छैन् । यो अत्यन्त दुःखको कुुरा हो । वर्तमान समयमा अव्यवस्थित तरिकाले विस्तार हुँदै गएको सहरीकरणसँगै जथाभावीरुपमा निर्माण भएका संरचनाहरुले भूकम्पीय जोखिमलाई निम्ताएको छ । आचारसंहिता विपरीत बनाइएका भौतिक संरचनाहरू, साँघुरा र अव्यवस्थित सडकहरू, सहरी क्षेत्रमा पर्याप्त खुला ठाउँको अभाव लगायतका कारणले गर्दा पनि नेपालका अधिकांश सहर भूकम्पीय जोखिममा छन् । भूकम्पीय क्षतिबाट बच्नका निम्ति आमजनतामा व्यापक भूकम्पीय सुरक्षा सचेतना आवश्यक पर्नेमा दुई मत छैन । भूकम्प जाँदा अपनाउनु पर्ने सुरक्षा मापदण्ड तथा तौरतरिकाका सम्बन्धमा जनतालाई प्रशिक्षित गराइनु अति आवश्यक छ । भूकम्प जहिले पनि जान सक्छ र सबैभन्दा सुरक्षित घर बनाएर बसेका व्यक्ति पनि बाहिर निस्केका बेला भूकम्पको मारमा पर्न सक्छन् । पुरै समाजमा भूकम्प चेतना अभिवृद्धि नगरी र निर्माण मापदण्डलाई स्तरीय नबनाई हामी यो सामूहिक जोखिमबाट बँच्न सक्दैनौं । भूकम्पबाट हुनसक्ने क्षतिलाई ध्यानमा राखेर भौतिक संरचनाहरू निर्माणमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update