Shittalpati
पहिलो पटक मगर किचन पुग्दा...

पुरन राजकोटी मगर

लुम्बिनी प्रदेश बुटवलको व्यस्त सहर अनि आधुनिक शैलीको खानपान, जीवनशैली यी सबै भन्दा फरक तरिकाबाट निर्माण गरी सञ्चालन गरिएको मगर किचन । त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्दछ । कलात्मक शैलीमा निर्माण गरिएको उक्त किचन निकै नै मनोमहक र आकर्षक छ ।

बुटवल बजारको तीनकुनने चोकदेखि केही भित्र रेग्मी पथमा रहेको यो मगर किचनमा जब म प्रवेश गरेँ निकै फरक अनुभव गरें । जब म बान्नोंको बाउन्ड्री र बाँसको तगारोबाट भित्र छिरे मेरा आँखाले पुरानो कलाकृति मगर समुदायले प्रयोग गर्ने पुराना भाडाँकुडा,बाद्यवादनका सामग्री र पुरानै शैलीमा बनाइएको पानी धारा देखें । मनमा अझै कौतुहलता जाग्यो र विस्तारै त्यहाँको वरिपरी घुमेर अवलोकन गर्न थालेँ । आँगनमा गाउँघरमा पाइने ढुंगा मिलाएर बिच्छाइएको रहेछ । आँगनको छेउमै मकैको सुली हालिएको,अघिल्लोतर्फ बान्नोमा ढुंगा कुँडिएर बनाइएको पधेँंरा थियो । साच्चिकै मनले सन्तुष्टि प्राप्त गरिरहेको आभास मैले पाइरहेको थिए ।

मगर किचनको पिडिँमा हाम्रा पुर्खाले प्रयोग गर्ने ढिकी, जाँतो छोप पिस्नको लागि सिलौटो पुराना मुढे मौरीकाघार खुर्पेटो आदि देख्न पाएँ । दुई तल्लामा बनेको यो मगर किचनमा माथिल्लो तलाकोे बार्दलीमा फर्सी, मकैका झुत्ता लहरै राखिएको थियो ।

भित्र खाना खाने टेवलहरु निकै सुन्दर सफा गरेर राखेको अनि भित्तामा हेर्दा गाउँघरको भाषामा ढ्वाङ्गे बन्दुक भरिएको अवस्था जस्तै राखिएको थियो । काँचको भाँडा र मगर पूर्खाले प्रयोगमा ल्याएका तिर पनि भित्तामा सजाएर राखिएको रहेछ । महि पार्न ठिकी र स्थानीय छाङ र रक्सीको लागि भाँडाकुँडा पनि राखिएको रहेछ । झ्वाट्ट हेर्दा यो कुनै म्युजियम जस्तो लाग्ने किन की यहाँ हरेक सामग्री पुराना र कलात्मक जो छन् ।

खानाको स्वाद र परिकार

यहाँ बन्ने हरेक खाना गाउँले परिवेश र स्थानीय उत्पादन भएकाले यो मगर किचनको स्वादमा पूर्खयौली स्वाद पाउँन सकिन्छ । मकैको आँटो,कोदोको रोटी,कोदोको ढिडाें,मही,फापर रोटी,शुद्ध मौरीको मह,भकिम्लो हो । अचार,घिउ,मगर अचार ,सिस्नो , स्थानीय रक्सी छाङ,सुंगुरको सुकुटी मासु सेकुवा आदि यहाँको विशेष परिकार हो ।

हरेक खानामा पहाडको सिस्तो,टिमुर र सिलौटोमा पिसिएको चट्नी मिसाइने भएकाले यहाँको स्वादमा गाउँघरकै टेस्ट पाइन्छ । बुटवल बजारको अलि भित्री क्षेत्रमा भएकाले पनि धुलो धुँवारहित वातावरण चिटिक्क परेको घर त्यही घर भित्रमा सफा किचनमा पकाइएको अर्गानिक खानाले यहाँ आउने म लगायत सयौं पाहुनालाई सन्तुष्टि प्रदान गरेको छ । मिठो मुस्कान र मुस्कुराउने मगर्नी नानीहरुले मगर भेषभुषामा सजिएर दिएको खाना खाँदै मगर्नीहरुसँग मगर भाषामा कुरा गर्दै सेवा लिनुको मज्जा बेक्लै छ ।

गुल्मीमा जन्मनु भएका सञ्जय काउचा मगरले नेपालमै पहिलो पटक बुटवलमा सुरु गरेको यो किसिमको मौलिकता झल्काउने रेस्टुरेन्टमा करिब ५० लाख बढी लगानी गरेका रहेछन् । जग्गा लिचमा लिएर करिब २ वर्ष अगाडि शुरूवात गरेका सञ्जय काउचाले यो यात्रामा निकै पिडा र प्रकोपहरु सहनु पर्‍यो । कोभिड कै कारण सुरुवाती चरणमा रेस्टुरेन्ट ठप्प हुँन पुग्दा निकै पीडा सहनु पर्‍यो र त्यो भन्दा अगाडि पारिवारिक दुर्घटना पनि व्यहोर्नुपरेको थियो । त्यो दुःखद अवस्थाबाट अहिलेसम्म आउँदा जिन्दगीलाई राम्रैसंग परिभाषित गर्न सक्ने काउचाले दर्जनौं बढी फिल्मी लेखन कलाकारिता संगै जीवन (कथासंग्रह ) पुस्तक पनि बजारमा ल्याउनु भएको छ ।

विभिन्न घटना परिघटनासंगै जिन्दगी अगाडि बढाउने क्रममा आउने उतारचढावलाई सामना गर्दै अनवरत रुपमा निरन्तर आफ्नो लक्ष्यमा अगाडि बढ्न सकियो भने सफलता लिन सकिने रहेछ भन्ने एउटा उदाहरण हुन सञ्जय काउचा । परिचय पाउनको लागि फिल्मी लेखन र किताब प्रकाशन पनि हुनसथ्यो तर आफ्नै कलासंस्कृति झल्काउने पुराना रितिरिवाजमा आधारित गाउँले खानाको परिकारहरु सबै पाउने मगर किचन सञ्चालनले भने पछिल्लो समयमा सञ्जय काउचालाई परिचित मात्रा होइन जीवनयापन गर्न पनि सहजता प्रदान गर्नेमा म व्यक्तिगत रुपमा आशावादी छु ।

(लेखक गुल्मी कालीगण्डकीका हाम्रा संवाददाता समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update