Shittalpati
प्रहरी संगठन र खस्कदो प्रभाव

पछिल्लो समय प्रहरी संगठनको प्रभाव नेपाली समाजमा खस्कदै गएको छ । शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुख्य जिम्मेवारी भएपनि यदाकदा भ्रष्टाचार, फितलो अपराध अनुसन्धान, फेक इन्काउन्टर, जालसाँजी, जनतालाई अनावश्यक सास्ती जस्ता गतिविधि प्रहरीबाटै भएपछि नेपाल प्रहरी प्रति जनविश्वास खस्कदै गएको छ । नयाँ नारा दिएर कार्यक्रम सञ्चालन गरेपनि प्रहरीको कार्यशैली नसुध्रिएसम्म जनता–प्रहरी सम्बन्ध सुमधुर हुन नसक्ने विभिन्न घटनाक्रमले पुष्टी गरेका छन् ।

त्यसो त नेपाल प्रहरीले यसअघि मुस्कान सहितको सेवा, टोल–टोलमा प्रहरी, प्रहरी मेरो साथी, जिब्रोको गरिमा, मीठो बोलीमा लगायतका अभियान सञ्चालनमा नल्याएको होइन । तर प्रहरीका कार्यशैली नफेरिएकै कारण प्रहरी जहिल्यै विवादको भूमरीमा धकेलिंदै आएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत आफैं बर्खास्तीमा पर्नु, बौद्ध वृत्तका तत्कालीन डिएसपी श्यामकुमार राई घुससहित पक्राउ पर्नु, सुर्खेतमा घुस लिएर भाग्दै गरेका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्नु जस्ता घटनाक्रमले प्रहरी संगठन भित्रको बेथिती उजागर गर्छ । यी त केही प्रतिनिधी घटनामात्रै हुन् । ‘सत्य सेवा सुरक्षणम’ नेपाल प्रहरीको मूल आदर्श हो ।

यही तीन शब्दको शाब्दिक अर्थले नै प्रहरीको महत्व र गरिमा दर्शाउँछ । ‘सत्य सेवा सुरक्षणम’को अर्थ हुन्छ– सधैँ सत्यको पक्ष लेऊ, सधैँ सेवा गर र सत्यका पक्षधरहरुको सुरक्षा गर । तर, दुर्भाग्य ! प्रहरीको यो आदर्शको बिल्ला छातीमा भिरेर अपराधकर्ममा लागेका केही प्रहरीका कारण सिंगो संगठन नै बदनाम हुने गरेको छ । अपराधमुक्त समाज निर्माणको अभियानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरी अपराधकर्ममा मुछिँदा समाजमा नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।

केही दिन अघि मात्र बच्चा बोकेकी महिलामाथि भएको प्रहरीको निर्दयी व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ललितपुरस्थित भैंसेपाटीमा पूर्वरथी हेम खत्रीको घरमा धर्ना दिन पुगेका महिलाहरुको भीडमा काखमा बच्चा बोकेकी हेमा श्रेष्ठमाथि प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले निर्घात लाठी बर्साएको भिडियोले नागरिकको रक्षा गर्नुपर्ने प्रहरी नै भक्षक रहेको प्रमाणित गरेको छ । उनीमाथि अविलम्ब कारबाही गरिनुपर्ने जनआक्रोश बढ्दै गएपछि उनलाई जिम्मेवारीबाट हटाइएको छ । यस्ता घटनाका कारण नै सिंगो प्रहरी संगठन माथि जनताको विश्वास गुम्न पुगेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update