Shittalpati
लुम्बिनीमा प्रदेशसभा बैठक स्थगन

बुटवल, लुम्बिनी प्रदेशसभाको बुधबारको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो दिन पनि अवरुद्ध गरेका कारण बैंठक स्थगित भएको हो । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेकाले बिहीबारसम्म बैठक स्थगन भएको घोषणा गरे ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सुरु गरेका थिए । निरन्तर अवरोध गरिरहेपछि बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि सभामुख घर्तीले बैठक स्थगित गरेका हुन् । एमालेले सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरिएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ । मंगलबार अधिवेशनको पहिलो दिन पनि एमालेकै अवरोधका कारण जम्मा ६ मिनेट बैठक बसेर स्थगित भएको थियो ।

बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष समयमा बोल्ने, प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले प्रदेश नं ५, प्रदेश पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस हुने, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट फिर्ता गरियोस् भन्ने प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काबाट पेस भई निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update