
बुटवल, लुम्बिनी प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार नियमित अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शनिबार सार्वजनिक गरेको सूचनामा संविधानको धारा १८३ को उपधारा १ बमोजिनम नवौं अधिवेशन भदौ १ गते दिउँसो १ बजेका लागि आह्वान भएको उल्लेख छ ।
प्रदेशसभा विशेष अधिवेशन शुक्रबार अन्त्य भएको थियो । साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले विश्वासको मत लिने तयारी गरेका छन् । लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता केसी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएलगत्तै ७ सदस्यीय मन्त्रिमण्डल बनाएका उनले गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिमण्डल पूर्ण गराउन सकेका छैनन । विश्वासको मत लिएपछि मात्र पूर्ण आकारको मन्त्रिपरिषद् बनाउने गरी अविधेशन आह्वान भएको जनाइएको छ ।