Shittalpati
कोरोनासँग लापरबाही नगरौं

समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा पाल्पा लगायत देशैभर संक्रमितको दर उकालो लागेको छ । अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको पनि छ । निषेधाज्ञा खुकुलो बनेसँगै सर्वसाधारणको दैनिकी सहज बन्दै गएको त छ तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने लापरबाही भएको छ ।
यतिसम्म कि कोरोना भाइरसको तेस्रो भेरियन्ट पुष्टि भइसक्दासमेत सर्वसाधारण मास्क लगाउनसमेत हिच्किचाउने गरेको पाइएको छ । देशका अधिकांस जिल्लामा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर, यो निषेधाज्ञा ‘तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ भनेजस्तो औपचारिकताका लागि मात्रै लागू भएको छ । निषेधाज्ञा न कहीँ कार्यान्वयन भएको छ, न प्रशासनले अनुगमन गर्न नै आवश्यक ठानेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा बढिरहेकै छ । सरकारले कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीहरुलाई निर्देशन दिइसकेको छ । नयाँ भेरियन्टको कोरोना महाव्याधिका कारण आगामी दिन थप चुनौतीपूर्ण हुन सक्ने आँकलन गर्दै सरकारले सबै निकायलाई पूर्वतयारीमा रहन निर्देशन दिएको हो । यसको अर्थ पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै जाँदा कडा खालको बन्दाबन्दी अर्थात् निषेधाज्ञा गर्नुपर्ने अवस्थालाई संकेत गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विकसित मुलुकहरुले अंगिकार गर्ने अन्तिम विकल्प पनि बन्दाबन्दी अर्थात् निषेधाज्ञा नै हो । चाहेर होस् वा नचाहेर पनि राज्यले गर्ने अन्तिम विकल्प बन्दाबन्दी नै हो । यस्तो अवस्था आउन नदिनका लागि हामी आफै सचेत हुनुपर्छ । कोरोनाका कारण धेरैको ज्यान गइसकेकाले पनि आमनागरिक समयमै सचेत हुनुपर्छ । तसर्थ कोरोनासँग लापरबाही होइन सचेत बनौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update