
बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ बजेट र नीति तथा कार्यक्रम संशोधन हुने बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताएका हुन । पोखरेल नेतृत्वको सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रम प्रति गठबन्धनले आपत्ति जनाउदै आएको थियो । सोही विषयलाई अहिले नवनियुक्त मुख्यमन्त्री केसीले संशोधन गरेर जाने बताएका छन् । उनले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वभाविक हुने बताए ।
‘नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ आउँछ, त्यसलाई अन्यथा लिनुपर्दैन,’ मुख्यमन्त्री केसीले भने, ‘जुन पार्टीले संविधानको सर्वोच्चतालाई अपहेलना गरेर अध्यादेशबाट बजेट ल्यायो त्यसलाई स्वीकार्ने प्रश्नै हुन्न ।’ केन्द्रमा केपी ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्दतिलाई सही ट्रयाकमा ल्याउन पनि प्रदेशसभाबाट नयाँ बजेट ल्याइने केसीले बताए ।
उनले विशेष अधिवेशन टुंगिएपछि नियमित अधिवेशन बोलाउने बताएका छन् । उनले भने ‘हामी नियमित विधेयकहरू ल्याउँछौं । सँगै विश्वासको मत लिन्छौं । यो छिटै नै हुन्छ । यसमा पनि हामी छलफल गरेर छिट्टै निर्णयमा पुग्ने छौं ।’