Shittalpati
नाग पञ्चमी र यसको परम्परा

हरेक वर्ष साउन महिनाको शुक्लपक्षको पञ्चमी तिथिमा विधिपूर्वक नागहरूको पूजा गरिन्छ । आज पनि हिन्दु धर्मावलम्बीहरुले घर–घरमा नागको पूजागरी पर्व मनाउँदै छन् । नागहरूमा पानी पार्ने शक्ति भएको विश्वासले गर्दा वर्षाकालमै नागपूजा गर्ने परम्परा रहेको छ । नागपञ्चमीको दिनमा नागको मूर्तिहरूमा दूध र दहीले स्नान गराउने र अर्पण गर्ने चलन छ । सर्पलाई गहनास्वरूप प्रयोग गर्ने शिवको ऋषेश्वर स्वरूपलाई पनि यसै दिन स्मरण र पूजन गरिन्छ । घरभित्र सर्प नपसुन् भनेर मूलढोकाको माथिल्लो भागमा अष्टनाग र कालियदमन चित्र टाँसिन्छ ।


वैदिक समयदेखि पूजा प्राप्त गरेका नागलाई श्रीकृष्णले विशेष महत्व दिएका छन् । प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दूहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै, अर्कोतिर हिन्दू धर्मको दार्शनिक पक्षलाई सम्झाउँछ । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । प्राचीनकालदेखि नै नेपालमा नागपूजा मनाउँदै आएको पाईन्छ । भगवान शंकरले गहनाको रुपमा र भगवान विष्णुले शैयाको रुपमा प्रयोग गर्ने नागलाई बौद्ध धर्ममा उत्तिकै श्रद्धाका साथ पूजिन्छ । यौगिक साधनाको माध्यमबाट उक्त कुण्डलीनीलाई जागृत गराउँदै शह श्रधार चक्रमा समाहित गराएपछि मानवले मोक्ष प्राप्त गर्दछ भन्ने दार्शनिक मान्यता छ । यसकारणले पनि भगवान शिवजीले सर्पलाई गहनाको रुपमा प्रयोग गरेको स्वभाविक लाग्छ । हिन्दु धर्म अनुसार हिन्दु धर्मावलम्बिहरुले कुनै पनि शुभ कार्य गर्नु पूर्व शुभसाहित हेराउने र साइतमा मात्र गर्ने परम्परा रहेको छ । तर श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमीको दिन भने कुनै पनि शुभ कार्यका लागि साहित हेराउनु जरुरी नभएको धार्मिक तथा ज्योतिष शास्त्रिय मान्यता रहेको छ । त्यसैगरि कुनै पनि मानिसले घर वा आफ्नो लागि बासस्थान निर्माण कार्य सुरु गर्नु पूर्व उक्त भूमिमा नागको बास छ छैन भनि परिक्षण गराउँछन्, यदि उक्त भूमिमा नागको बास भए विधिवत रुपमा पूजा गरि नागलाई पन्छाएर नाग देवताको दोषबाट छुटकारा लिने धार्मिक आस्था रहिआएको छ । हिन्दु धर्मावलम्बीहरुले नागलाई देवताको रुपमा विशेष महत्व दिन्छन् । नाग देवता धर्तीमा बस्छन् भन्ने मान्यताले गर्दा धर्ती खनजोत गर्दा नाग देवतालाई चोट पुग्ने भएकाले नाग पञ्चमीको दिन धर्तीमा खनजोत समेत गरिन्दैन् । नाग र मानिसको सम्बन्ध परापुर्वकालदेखि नै कुनै न कुनै रुप र स्वरुपमा रहिआएको पाइन्छ । यसर्थ नागलाई देवता मान्ने धर्मावलम्बीहरुले धार्मिक आस्था र विश्वासको रुपमा यस पर्वलाई भव्यताका साथ मनाउने परम्परा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update