Shittalpati
आज नाग पञ्चमी : घर–घरमा नागको पूजा गरिदैं

पाल्पा, नाग पञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्विर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्वमा नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राहमण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।


आज बिहानैदेखि देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष रुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । जलाशय पँधेरा, धारा कुवा, इनार लगायत पानीको मुहान स्रोतमा नागको बासस्थान रहने विश्वास रहिआएकाले आजको दिन पानी पँधेरामा पनि कपासको नाग बनाई दूध चढाई पूजा गर्ने चलन पनि रहेको छ । आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ । ज्योतिषशास्त्र–अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नाग पञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन । वैदिक परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रुपमा मानिन्छ । पंचायन देवतामध्ये शिवको गलामा नाग विष्णुको शैयामा नाग गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ ।
त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेषनागका प्रतीक नै हुन् । नागको पूजा गर्दा चामलको पीठोको मूर्ति स्वरुप नागदम्पती बनाइ गाईको दूध कपासको प्यूरी तील लावा चढाई केराको पातमा राखेर नागको प्रार्थना गर्नाले नागहरु बढी खुसी हुन्छन् भन्ने प्रचलन छ । नागको पूजा गर्ने चलन वैदिककालदेखि नै शुरु भएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update