Shittalpati
तिनाउमा जिप दुर्घटना : चालकसहित १० जना घाइते

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।  घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । माथागढी गाउँपालिका–५ बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको पिकअप जिप सोमबार बिहान चिउरीडाँडास्थित झुम्सा–सत्यवतीधाम जाने भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार दुर्घटनामा घाइते हुनेमा तिनाउ गाउँपालिका–३ सत्यवतीका ३६ वर्षीय खमबहादुर डिसुवा मगर, ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर रहेका छन् । खमबहादुरको खुट्टा, नरसिंहको टाउको तथा शर्मिलाको अनुहारमा चोट लागेको छ ।

त्यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ का १० वर्षीय सन्तोष रेश्मी र ३५ वर्षीय भुवनसिंह रेश्मी, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ पोखराबारीकी ३६ वर्षीया दुर्गा थापा र उनका चार वर्षीय छोरा डेनिश थापा, पाल्पाको माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा, जिप चालक ३९ वर्षीय देवकुमार घर्ती र रुपन्देहीको बुटवल–१८ मोतीपुरकी ३६ वर्षीया सपना राना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये चार वर्षीय डेनिश थापाको अवस्था गम्भीर छ भने अन्य नौ जनाको अवस्था मध्यम रहेको छ । दुर्घटनामा घाइते सबैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update