Shittalpati
‘मास्क खोइ ?’ अभियानको सान्दर्भिकता

पछिल्लो समय कोरोनाको चर्चा केही कम भएको जस्तो सुनिन्छ । तर त्यसको प्रभाव भने अझै कम हुन सकेको छैन । मानिसहरूमा सन्त्रास कम भएको मात्र हो । तीन हजार र चार हजारको बीचको संख्यामा दैनिक संक्रमित पाइनु र बीसदेखि तीसजना बीचमा दैनिक मृतकको संख्या कायम रहिरहनुले संक्रमणको अवस्था कायमै रहेको पुष्टि गर्दछ । मृत्यु हुनेको संख्या त अहिले अझै बढेको पाइएको छ । नेपालमा जारी निषेधाज्ञा केही खुकुलो हुँदै गएको छ । गाडीहरू गुडिरहेकै छन्, मानिसहरूको चहलपहल भइरहेकै छ, पेशा व्यवसाय सुचारु भएकै छन् ।


यिनै कारणले वातावरण सहज भएको जस्तो भानपरेको छ तर सतर्क हुनुपर्ने धेरै कुरा छन् । सरकारले नागरिकलाई आगामी चैत्र मसान्तसम्ममा कोभिड खोप लगाइसक्ने योजना बनाएको छ । खोपले संक्रमण हुनबाट रोक्नेभन्दा पनि मृत्युबाट जोगाउने स्वास्थ्यविज्ञ बताउँछन् । अहिले पनि खोपको दुवै मात्रा लगाएकालाई संक्रमण भइरहेको छ । तर, उनीहरूको स्वास्थ्यमा लक्षण सहितका गम्भीर असर कमै देखिएका छन् । त्यसैले खोप लगाए पनि नलगाएसरह स्वास्थ्य मापदण्ड भने सधैं अपनाउनै पर्ने चिकित्सकको सुझाव छ । दैनिक साबुनपानीले हात धुने, पानी नभएको स्थानमा धेरै समय रहनु परे स्यानीटाइटरको प्रयोग गर्नुपर्ने त नियमित प्रक्रिया नै हो । अझै घर बाहिर निस्कनु परे नाक, मुख छोप्ने गरी मास्कको प्रयोग पनि अनिवार्य नै भएको छ । तर, अहिले पनि घर बाहिर निस्कँदा मास्कको प्रयोग सबैले गरेको पाइँदैन । सरकारले पनि सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न ‘तपाईंको मास्क खोइ ?’ अभियान सञ्चालन गरेको छ । यो एक हदसम्म सकारात्मक छ । तर नागरिक आफै सचेत हुनुपर्नेमा सरकारले नै मास्क लगाउन अभियान नै चलाउनुको चाँही दुख्द हो । सुन्दा सामान्य लाग्ने कुरा हो, ‘मास्कको प्रयोग’ । कोरोना संक्रमण मात्रै नभइ अन्य रोगको संक्रमणबाट पनि मास्कले रोक्नको लागि महत्वपूर्ण सहयोग गर्दछ । श्वासप्रश्वासको माध्यमबाट सर्ने र लाग्ने रोग नियन्त्रणमा मास्कको प्रयोग र सामाजिक दूरी कामय गर्नु नै सुरक्षित रहने उत्तम विकल्प हो । यसर्थ नागरिक स्तरबाट अनिवार्य मास्क लगाउने बानीको विकास हुन सके मात्र मास्क अभियानले सार्थकता पाउने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update