
पाल्पा, जिल्लामा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशले पाल्पा जिल्लामा जिल्लास्तरीय मानव अधिकार अनुगमन समिति गठन गरेको हो ।
नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य त्रिलोचन पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा नेपाल बार एसोसिएसन पाल्पाका अध्यक्ष बिनोद कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सिना, मानवअधिकार तथा शान्ति समाजका पुष्करराज रेग्मी, मानवअधिकार एलाइन्स पाल्पाका अध्यक्ष भगवान भण्डारी, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष मिना जिसी, मानवअधिकारका लागि एकल महिला समूहकी अध्यक्ष तुल्सी शर्मा र फेडो पाल्पाकी तुल्सी पन्थी रहेका छन् । त्यस्तै सदस्य सचिवको रुपमा आयोगका मानवअधिकार अधिकृत बसन्त अर्याल रहेका छन् । कोभिड–१९ को सन्दर्भबाट उत्पन्न जटिल परिस्थितिको सेरोफेरोमा मानव अधिकारको अवस्था अनुगमन गर्न जिल्लास्तरीय अनुगमन समितिको गठन गरिएको राष्ट्रिय मानव अधिकार आयोग बुटवलका मानवअधिकार अधिकृत बसन्त अर्यालले बताए । कोभिड–१९ को बेला संक्रमितहरूको स्वास्थ्य उपचार, स्वास्थ्य सामग्री तथा औषधिहरूको उपलब्धता, खाद्यान्नको अवस्था, लैङ्गिक हिंसा, महिला तथा बालबालिकामाथि हुने हिंसा, लगायत मानव अधिकारका विषयमा समितिले अनुगमन गर्ने अर्यालले बताए । यसरी अनुगमन पश्चात समितिले प्रतिवेदन समेत तयार पार्ने उनले बताए ।