Shittalpati
समृद्ध राष्ट्र निर्माण : अब औँला अरूतिर होइन, आफूतिर

दुर्गा प्रसाद अर्याल
[email protected]

समृद्ध राष्ट्र निमार्णको आधार सिंहदरबार,संसद्का चर्का भाषण, सामाजिक सञ्जालमा कडा स्टाट्स लेखेर योजना र बजेट बनाएर मात्रै आउँदो रहेन छ । यो विगतले प्रमाणित गरी सकेको छ । अनि तीन तहका सरकारको सिंहदरबारबाट मात्रै पनि यो सम्भव हुँदो रहेन्छ जब सम्म  व्यक्ति ,घर परिवारको सक्रियता र चासो देशप्रतिको सकरात्मक भावना प्रत्येक नागरिकमा उत्पन्न गराउन सकिदो रहेन छ । जुन देशमा नागरिक सक्रिय र इमान्दार छन् त्यो देशको विकास छिटो हुँदो रहेछ त्यो विश्व उदाहरणबाट प्रमाणित भैसकेको छ । समृद्ध राष्ट्र ,सुखी नेपालीको मिठो शब्दले मात्रै समृद्ध आउँदो रहेन छ किनकी यो सपना देखेको पनि दशकौँ भयो । नदीमा धेरै पानी बगी सक्यो तर होला की ? एक दिन भन्ने आशले अहिलेसम्म छोडेको पनि देखिदैन् आम नागरिकमा । यही उद्देश्य प्राप्तिका लागि व्यवस्था परिवर्तन भए,सरकार परिवर्तन भए, राजनीतिक नेतृत्व परिवर्तन भयो । देशले संरचनामा काँचुली फेर्यो  तर अवस्था उस्तै हिजो अनि आज  ।

अब भएन की भन्दै परिवर्तन गर्नु पर्ने बाँकी पनि केही देखिदैन् । दोष थुपार्ने ठाउँ पनि कसै माथि देखिदैन् । अब गम्भिर समिक्षा आवश्यक छ देश निमार्णका लागि । अब व्यवस्था ,सरकार र राजनीतिक नेतृत्व परिवर्तनका कुरा हैन् नागरिक परिवर्तनका कुरा गर्नु पर्ने समय आएको छ ।  नागरिकले अधिकार मात्रै होइन मेरो कर्तव्य के ? भन्नु  पर्ने समय आएको छ । स्वार्थका लागि विधि मिच्चने नागरिक होइन ,कमिशनको चक्करमा आफ्नै ठाँउको विकास गुणस्तरहिन बनाउने नागरिक हैन्, अब जिम्मेवार नागरिकको खाँचो छ देश विकासका लागि । अब औंला राजनीतिक नेतृत्व तर्फ हैन एक पटक आफै तिर तेस्राउने समय आएको छ । देशले के दियो मात्रै होईन हामीले देशलाई के दियौँ भन्ने समय आएको छ  । यहाँ यीनै विषयसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

देश बिग्राने नेता नै हुन् । पुराना दल हुन् । यीनैका कारण हो देश विकसित हुन नसकेको । जनताको दैनिकी र जीवनस्तरमा सुधार हुन नसक्नुको कारण पनि नेताको कार्य शैली हो । यी र यस्तै शब्द प्रयोग गर्दै चिया गफ बनाएको दशकौं अवधि पुरा भयो । साशन व्यवस्था परिवर्तन भए ,साशन गर्ने नेता परिवर्तन भए ,साशन शैली परिवर्तन भयो । हामीले भने झै युवा साशन सञ्चालनमा आए तर आशा जगाउदो साशन शैलीको अनुभूति हामी नेपालीले गर्न पाएको देखिदैन् । राजनीतिक आडमा झाँगिएको कर्मचारीतन्त्र । एक राजनीतिक दलले अर्को राजनीतिक दललाई असफल बनाउने खेलमा असफलतातर्फ रुमलिएका नेपालका महत्वपूर्ण बर्षहरुले हामीलाई विकासोन्मूख देशमै राख्न बाध्य बनाएको छ ।  समय परिवर्तनशिल छ । मानिसको सोच र व्यबहारमा परिवर्तन भैरहेको छ । अब सरकार ,राजनीतिक दल ,राजनीतिक नेतृत्व मात्र दोषी की जनता पनि ? देश नबन्नुमा छलफलको विषय बन्न जरुरी देखिन्छ । बनेका सरकार,राजनीतिक दल,राजनीतिक नेतृत्वलाई देश विकास नभएको , वेथिती र भष्ट्रचार बढाएको, जनताको जीवनस्तर सुधार गर्न नसकेको भनि आरोप र दोष थुपारेको दशकौं समय बेथित हुँदै गयो । हामी सरकार र राजनीतिक दलतर्फ औलो तेस्राउँदै गयौं तर देश बनाउन जिम्मेवार नागरिकको खाँचो हुन्छ भन्ने बारेमा बेखवर जस्तै भयौ । देश बनाउन राजनीतिक दल र नेतृत्व को भन्दा बढी जिम्मेवारी विवेकी नागरिक हुने गर्दछ ।

विश्वका विकसित देशको नागरिकका उदाहरणले यहि देखाउँदछ ।  देशको वास्तविक विकासका लागि हरेक नागरिक जिम्मेवार ,सचेत ,इमान्दार ,विवेकी र कर्तव्यनिष्ठ हुनु अनिवार्य शर्त जस्तै देखिन्छ । जहाँका जनता सचेत छन् त्यस स्थानको विकास पनि छिटो र गुणस्तरीय भएको देखिन्छ । अधिकारका चर्को कुरा गर्ने हामी जनता देश विकासका पक्षहरुमा पनि उत्तीकै जिम्मेवार र कर्तव्य निष्ठ हुन जरुरी देखिन्छ । देशको माया सामाजिक सञ्जालको स्टाट्समा होइन व्यवहारमा हुनु पर्दछ । राजनीतिक स्वार्थ र सत्ता प्राप्तिका लागि देखाउने राष्ट्रवाद होइन् मुटुमा देशको माया उत्पन्न हुनुपर्दछ । देश र जनताका लागि गोहिको आशु चुहाउने होईन वास्तविक आशु चुहाउनु जनता र नेतृत्व भएमा मात्रै समृद्ध राष्ट्र सम्भव छ । छेपारोले रंग फेरे जस्तो राष्ट्रवाद होईन मन र मस्तिस्कमा राष्ट्रवाद हुनुपर्दछ  यसो भएमा मात्रै देश विकासको आधार ,समृद्ध राष्ट्र निमार्णको आधार तय हुने देखिन्छ ।

हामी नागरिक कहिले कहिले पशु व्यवहार देखाउँदै देशलाई असफलताको बाटोमा धकेल्न पछि पर्दैनौ । धर्मका नाममा ,भाषाका नाममा,जातीको नाममा विवाद गर्दछौ । अनि देशलाई स्वार्थ परिपूर्ति गर्न द्वन्द्व तर्फ धकेल्न कोसिन्छौ । व्यक्तिगत स्वार्थ परिपूर्तीका लागि देश वेथिती र भष्ट्रचारलाई अगाल्छौ । राज्यलाई ठगन्न , कर छल्न पछि पर्दैनौ । राज्य अप्ठयारो परेको बेलामा झनै अप्ठयारो थप्ने कार्यमा सक्रिय हुन्छौ । उपभोग्य बस्तुको अभावमा झनै धेरै सञ्चय गरेर राज्यलाई झनै अप्ठयारो पार्न पछि पर्दैनौ । राज्यमा द्वन्द्व ल्याउन ,अपवाह फैलाउन अग्रसर हुन्छौ । आफ्ना आखै अगाडिका वेथिती र अपराधलाई नदेखेझै, नसुने झै गर्दछौ । राज्यका अंगका आखा छल्न पाए जस्तोसुकै अपराध गर्न पछि पर्दैनौ तर दोष भने राजनीतिक दल ,सरकारलाई दिन पछि पर्दैनौ ।
 

समृद्ध राष्ट्र निमार्णमा नागरिकको भूमिका :
समृद्ध राष्ट्र निमार्णको आधार देशका नागरिकनै हुन् । नागरीक विना देश विकासको कल्पना पनि गर्न सकिदैन् । विवेकी ,कर्तव्यनिष्ठ  र जिम्मेवार नागरिक देश विकासको आधार भएकाले देश विकासमा उल्लेख्य भूमिका हुने कुरामा दुईमत रहँदैन । कानुनको पालना ,इमान्दारीता ,नैतिकता ,कर तिर्ने बानी,सार्वजनिक सम्पत्ति तोडफोड र आगलागि गर्ने होईन संरक्षण गर्नु पर्ने, विकासमा सहभागिता र चासो ,भ्रष्टाचार र बेथिती माथि निरन्तर निगरानी ,राष्ट्रहितलाई पहिलो प्राथमिकता, नेतृत्व माथि खवरदारी गर्ने, उत्पादन र प्रयोगमा जोड, नियमको पालना,सहकार्यमा जोड केहि समृद्ध देश निमार्णमा नागरिकको भूमिका रहेको देखिन्छ ।
 

निष्कर्ष :
समृद्ध राष्ट्र निमार्ण गर्ने कुरा सरकार वा राज्यको एकल दायित्व होईन । यो देश भित्रका सम्पूर्ण पक्षको साझा दायित्व र कर्तव्य हो । एउटा पक्षको प्रयासले मात्रै यो सम्भव हुने कुरा पनि होईन । सरकार र राजनीतिक दललाई दोष दिएर मात्रै यो प्राप्त हुने कुरा पनि होईन् । यसका लागि नागरिकको कर्तव्य ,दायित्व अनिवार्य शर्त हुनुपर्दछ । प्रभावकारी साशन ,सक्षम राजनीतिक नेतृत्व , देशको माया भएका विवेकी नागरिकबाट मात्रै समृद्ध देशको लक्ष्य प्राप्त हुने भएकोले देशले मलाई के दियो ? भन्ने भावना त्यागी महिले देशका लागि के योगदान दिन सक्छु ? भन्ने भावना हरेक नागरिकमा विकास गर्न सकेमा पक्कै पनि समृद्ध र आत्मनिर्भता सहितको विकसित नेपाल निमार्ण गर्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update