Shittalpati
लोकतन्त्र कमजोर नबनाऊ

नेपालमा पछिल्लो समय लोकतन्त्र कमजोर बन्दै गएको छ । विभिन्न राजनितिक दलहरुकै कारण लोकतन्त्र कमजोर बन्दै गएको हो । लोकतान्त्रिक बहुदलीय व्यवस्थाको सुन्दरता भनेको संविधानवादको पालना, मानव अधिकारको प्रत्याभूतिलगायत आवधिक चुनाव हो । यी आयाम नहुँदो हो भने लोकतन्त्रको प्रत्याभूतिसमेत गर्न सकिँदैन । यी आयामले समग्रमा विधिको शासन जनाउँछ । आजको नेपालमा लोकतन्त्रलाई चुनावको परिधिभित्र सीमित गर्ने प्रयास गरिँदै छ त्यो खेदजनक हो र चिन्ताजनक पनि । नेपालले गणतान्त्रिक व्यवस्थालाई आत्मसात गरेर मुलुकलाई सार्थक दिशा दिने अठोट लिएको छ । किनभने यो व्यवस्था कसैको तजविजीमा नआएर नेपाली जनताको प्रतिनिधित्व गर्दै बनेको संविधानसभाबाट आएको हो ।


त्यसपश्चात् भएको चुनावमा हरेक राजनीतिक दलले संघीयता र गणतन्त्रका आधारभूत सैद्धान्तिक ‘क्यानभास’ मा आआफ्ना घोषणापत्र लिएर आम जनतामा गएका थिए । पछिल्लो चुनावमा नेपाली जनताले देशलाई अगाडि बढाउन र प्राप्त उपलब्धिलाई गोडमेल गर्दै हुर्काउने जिम्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दिए । तर वर्तमान अवस्थालाई हेर्दा र बुझ्दा नेपाली लोकतन्त्र अहिले नेकपाको परिबन्दमा फसेको अनुभूति भइरहेको छ । जनताले पाँच वर्षको लागि सरकार सञ्चालनको जिम्मा दिए पनि नेकपाले त्यो जिम्मालाई बिचमै तुवाइदिएको छ । माओवादी केन्द र एमाले मिलेर नेकपा बने पनि अहिले उनीहरु अलग भएका छन् । र एमाले एमाले बिचमै पनि फाटो छ । एमाले दुई खेमाले एकअर्कालाई बिथोल्ने गरिरहेका छन् । दुवैको एकता त हुन सकिरहेको छैन तर प्रक्रिया पनि टुंगिएको छैन । आगामी आवधिक निर्वाचन सन्निकट छ । त्यसैले यी दुई पार्टीका दुई खेमा एकापसमा विभाजित भएर पनि रहनुको कुनै औचित्य छैन । यसले निर्वाचनमा दुवै खेमाको हारभन्दा अर्को परिणाम ल्याउने छैन । एमालेमा एक शीर्ष नेताले अर्को शीर्ष नेतालाई नंग्याउने र अर्को पक्षका जुनियर नेता तथा कार्यकर्तालाई आफनो पक्षमा ल्याउनेगरी ध्रुवीकरणको एकता अघि बढाएको देखिन्छ । यी मोडल नेपालको राजनीतिमा नयाँ मोडल नभए पनि चलिरहेको प्रक्रियाका भावभूमिमा यिनले वर्तमान परिवेशमा ल्याएको राजनीतिक तरंगले भने देश तताउने गरिरहेको छ । लोकतन्त्रमा राजनीतिक दलहरू फुट्नुहुंदैन । दल फुट्दा त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । तसर्थ लामो संघर्षपछि ल्याइएको लोकतन्त्रलाई थप बलियो बनाउनका लागि पार्टीका नेताहरु एक आपसमा जुट्नुको विकल्प छैनन् ।

 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update