Shittalpati
युवालाई व्यावसायिक बनाऊ

युवा देश परिवर्तनका संवाहक हुन् । तर आज तिनै युवाहरु कोरोनाका कारण सबै भन्दा बढी प्रभावित छन् । कोरोनाका कारण स्वदेश तथा विदेशको जागिर समेत गुमाएर अहिले युवाहरु बेफुर्सदी बनेका छन् । परिवर्तनका संवाहक युवाहरुले अहिले उर्जावान समय त्यत्तिकै खेर फालिरहेका छन् । यस्तो अवस्थामा सरकारले उर्जावान युवाहरुलाई स्वदेशमै कुनै न कुनै व्यवसायमा संलग्न गर्न सक्नुपर्छ ।


युवाहरु जोखिममा परिरहेको वर्तमानको यस्तो विषम परिस्थितिका कारण उनीहरुलाई ‘अभागी पुस्ता’ का रुपमा समेत चित्रण गर्ने गरिएको छ । युवाहरुलाई परिवर्तनका लागि तयार बनाउँदै कोभिड महामारीको जटिल समयसँग साक्षात्कार गराउनु अहिलेको अपरिहार्य आवश्यकता बन्न पुगेको छ । हाल विश्वभर नै बेरोजगारी समस्या उल्लेख्य मात्रामा बढिरहेको छ । विश्वका धेरै देशहरु आर्थिक मन्दीबाट समेत गुज्रिरहेका छन् । यसो हुनुको प्रमुख कारणमा विगत डेढ वर्षभन्दा बढी समयदेखि फैलिएको कोभिड महामारी नै बढी जिम्मेवार छ । कोभिड महामारीसँगै बाँच्ने सीपको विकास र कोभिडपछिको समयमा केही गरेर देखाउनुपर्ने चुनौतीबीच झुलिरहेको युवापुस्तालाई सिर्जनात्मक र व्यवसायिक बनाउन पनि उत्तिकै आवश्यक देखिन्छ । एकातिर बढ्दो बेरोजगारी र अर्कोतिर क्षमता अनुसारको कामसमेत गर्न नपाइएको अवस्थाले अहिलेको युवापुस्ता साँच्चै नै मानसिक तनावमा समेत पार्न पुगेको छ । त्यसैले पनि धेरै युवाहरु आफूले गरिरहेको पेसा, व्यवसायबाट पलायनसमेत भैरहेका छन् । अहिलेको आवश्यकता भनेको युवा जनशक्तिलाई व्यावसायिक र सीपमूलक बनाई रोजगारी उपलब्ध गराउनु हो । जुन भोलिसम्मका लागि टिकाउ हुन सकोस् । राजनीतिक अस्थिरता, व्यवहारिक र व्यावसायिक शिक्षाको अभाव, सम्मानित रोजगारिको अवसरको कमि नेपालका युवाले सबैभन्दा नरुचाइएका विषय हुन् । अवसर पनि यहि देशभित्र प्रसस्तै छन् भन्ने कुरा सम्बन्धित पक्षले बुझाउन नसकेको पनि यथार्थ हो । दुई प्रतिशत मात्रै नेपालीहरु विदेशी भूमिमा अलिकति सम्मानित जीवन विताउन सफल भएका छन् । बाँकि ठूलो हिस्सा त्यहाँ पनि जोखिम नै मोलिरहेका छन् । त्यो मेहेनत र श्रमदान नेपाली भूमिमा गर्ने हो भने यहाँ पनि सम्भावना नभएकै कहाँ हो र ? देश बदल्नसक्ने क्षमता युवाहरुसँगै छ । तसर्थ उर्जावान युवाहरुलाई स्वदेशमै व्यवसायिक बनाउने दिशामा वर्तमान सरकारले सोच्न जरुरी छ ।

 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update