Shittalpati
अक्सिजन अभाव हुन नदेऊ

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा अक्सिजन अभावमा धेरै नागरिकले ज्यान गुमाउनु पर्‍यो । संक्रमणका कारण अक्सिजनको मात्रा घट्दै गएपछि विरामीका आफ्न्त र अस्पताललाई अक्सिजन जुटाउन धौ धौ भएको अवस्था थियो । संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको थियो । अहिले फेरी दोस्रो चरणको भन्दा पनि खतरनाक तेस्रो चरणको भाइरस आएको विज्ञहरुले दावी गरेका छन् । पहिलो चरणको महामारीमा त्यति आवश्यक नपरेको अक्सिजनको आवश्यकता दोस्रो चरणमा खड्कियो । यही अनुपातमा हेर्ने हो भने पनि तेस्रो चरणको भाइरस झन खतरनाक हुने निश्चित छ ।

दोस्रो चरणको कोरोना महामारी अक्सिजनको अभाव टार्दाटार्दै केही हदसम्म नियन्त्रण भयो । अब तेस्रो चरणको खतरा छ । मुलुकभर फेरि विस्तारै कोरोना महामारीको लहर बढ्दैछ । क्रमशः खाली बन्न लागेका अस्पतालका बेड पुनः भरिन थालेका छन् । मृतकको संख्या बढ्दैछ । सहरमा मात्रै नभई गाउँ गाउँसम्म कोरोनाका लक्षणसहितका संक्रमित थपिँदैछन् । बजार पसलमा भीड बढ्दा संक्रमण चाँडो फैलँदैछ । घरबाहिर निस्कनेले स्वास्थ्य मापदण्ड नअपनाउँदा खतरा अझै उच्च छ । त्यसैले पनि पहिलो र दोस्रो चरणको महामारीबाट पाठ सिकेर अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको जोहो अहिले नै गर्नु आवश्यक छ । दिन प्रतिदिन संक्रमण र त्यसको अनुपातमा मृत्युदर पनि सँगैसँगै बढ्दै गएपछि अस्पतालमा संक्रमितको भीड लाग्न थालेको छ । बिरामीको भीड लागेसँगै महामारी संक्रमित बिरामीका लागि अत्यावश्यक मानिएको अक्सिजनको अभाव हुन सक्ने देखिएको छ ।

अहिले पनि अक्सिजनको दर घट्ने अवस्थाका कोरोना संक्रमित बढेका छन् । यसले अब पुनः तेस्रो चरणमा महामारी फैलिए अक्सिजनको व्यवस्था सबै जिल्ला र अस्पतालहरूमा चुस्त रूपमा राख्नुपर्ने आवश्यकता खड्किएको छ । बिरामीले आवश्यकता अनुसार अक्सिजन पाउन नसक्दा दोस्रो चरणको जस्तो त हुने हैन भन्ने आशंक पनि अहिले गर्न थालिएको छ । यसले संक्रमितलाई झनै ठूलो र गम्भीर समस्या पारिरहेको छ । यसले गर्दा सरकारले अक्सिजन अभाव हुन नदिन चाँडो भन्दा चाँडो पर्याप्त अक्सिजनको बन्दोबस्त अहिले नै गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update