Shittalpati
घातक ‘डोजरे विकास’

सामन्यतया विकास भनेको सकारात्मक परिवर्तनको सूचक हो । तर यहाँ विकासका नाममा विनास भइरहेको छ । जथाभावी डोजर लगाएर सडक निर्माणका कामले अहिले विकास भन्दा पनि विनास बढी गरेको देखिन्छ । अहिले समृद्धिको पहिलो पाइला भनेकै सडक निर्माणलाई बुझ्ने गरिएको छ । त्यसैले पनि जताततै सडक निर्माणको नाममा डाँडाकाँडा खन्ने क्रम तीव्र छ । जहाँ तही डोजर लगाएरै सडक निर्माण गर्ने गरिएको छ । संघीय संरचनासँगै केन्द्र, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि आएपछि त प्रत्येक वडासम्म सडक पुर्‍याउने अभियान नै चलेको छ । यो आफैमा सकारात्मक हो ।

तर गाउँ–गाउँ र वडा–वडामा सडक पुर्‍याउने नाममा जथाभावी रुपमा डोजरको प्रयोग गरेर सडक निर्माणले भने विनास नित्याएको छ । यो चाँही गलत हो । डोजर, एक्साभेटर कहाँ प्रयोग गर्ने ? कस्तो भू–संरचनामा प्रयोग गर्ने ? कति तौलको, कुन मौसममा, कुन भू–बनोट र अवस्थामा प्रयोग गर्ने भन्ने निश्चित प्राविधिक मापदण्ड नै नतोकि सडक निर्माण गर्दा थप समस्या निम्त्याएको छ । अझ सामान्य प्राविधिक नाँपजाँच नगरी स्थानीय प्रतिनिधि र ठालुहरूले जताजता औँला देखायो, उतैउतै डोजर र एक्साभेटरले उधिनेको भेटिन्छ । खनेको बाटोमा पहिरो जान्छ र वार्षिक त्यो पहिरो व्यवस्थापन गर्नलाई बजेट व्यवस्थापन गरिन्छ । यस्तो दुश्चक्र कतिन्जेल चलिरहने ? संघीयतासँगै गाउँ गाउँमा मापदण्डविपरीत सडक निर्माणको लहर चलेको छ । केही क्षेत्रमा सबै प्रक्रिया पूरा गरेर प्राविधिकको सल्लाहमा मापदण्डमा सडक विस्तार नभएका पनि होइनन् । तर, अधिकांश स्थानमा त्यस क्षेत्रको अवस्था नबुझी सडक निर्माण हुँदा जोखिम बढेको छ । जनप्रतिनिधिले आफैं डोजर किनेर आफैं ठेकेदार बनेका समाचार पनि आइरहेका छन् । यसले बेतिथि बढाएको छ । प्राविधिकबिना डोजरका चालकले हेरेको भरमा सडक खन्दा त्यस्ता सडकमा सवारी कुद्नु त परको कुरा, पहिरोको जोखिम बढाउन र बजेट सक्न बाहेक ती सडकले नागरिकलाई कुनै फाइदा दिएको छैन । कुनै पनि मूल्यांकनबिना खनिएका सडककै कारण पहिरो जाँदा जनधनको क्षति बढ्दो छ । सैयौं नागरिक विस्थापित भएका छन्, हजारौं घरपरिवार अझै जोखिममा छन् । यसर्थ विकास गर्ने नाममा जथाभावी डोजर प्रयोगले नित्याउने विनासतर्फ सबैले हेक्का राख्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update