Shittalpati
अनलाइन शिक्षा आवश्यक

अहिले पनि कोरोनाको संक्रमण उत्तिकै छ । यसको न्यूनीकरण हुने र भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने अवस्था देखिएको छैन । महामारीको त्रासबाट जोगिनका लागि बालबालिकाहरु घरमै बस्न बाध्य भएका छन् । विशेष गरी विद्याालय जाने बालबालिकाहरुका पठन–पाठन र शैक्षिक क्यालेण्डरहरु पूर्ण रुपमा अवरुद्ध भएको छ । यसरी घरमै बसेका असंख्य बालबालिकाहरुका लागि थुप्रै मुलुकहरुले अनलाइन पठन–पाठन शुरु गरेका छन् । नेपालमा पनि अहिले यसको अभ्यास भइरहेको छ ।

अनलाईन शिक्षा शिक्षण विधिको वैकल्पिक विधिका रुपमा अहिले प्रभावकारी देखिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले सबै शैक्षिक संस्थासमेत बन्द गरेको छ । यस्तो अवस्थामा केही विद्यालय/कलेजहरूले आफ्ना विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट अध्यापन गराइरहेका छन् । कतिपय शिक्षण संस्थाले निर्धारित समयमै ‘कोर्स’ सक्नका लागि र केहीले विद्यार्थीलाई अध्ययनमा व्यस्त राख्नका लागि अनलाइनबाट पढाउन/विभिन्न क्रियाकलापमा सहभागी गराउदै आएका छन् । यो आफैमा सकारात्मक छ । माथिल्लो तहमा पढ्ने विद्यार्थी तथा इन्टरनेट सुविधा भएका विद्यार्थीलाई अनलाइन शिक्षा प्रभावकारी मानिएको छ । जुनसुकै बेलामा फेरि पूर्ण बन्दाबन्दी, निषेधाज्ञा आदिका कडा कानुनी आदेशको सामना गर्न बाध्य हुनुपर्ने आवस्था कायमै छ । कोभिड–१९ बाट जोगिने सबैभन्दा उत्तम आधारको रुपमा रहेको कोभिड–१९ विरूद्धको खोप अभियान सुरू भइसकेको भए पनि सबै नेपालीले खोप नलगाएको र लगाएको खोपले पनि नयाँ–नयाँ भेरियन्टका रुपमा देखिएका भाइरसका विरूद्धमा काम गर्न सक्ने वा नसक्ने भन्नेसमेत परीक्षणकै क्रममा रहेकोले हामी सबैमाथि खतराको घण्टी झुण्डिइरहेको छ । कतिञ्जेल झुण्डिइरहने हो सबैलाई अन्योल छ । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका करिब ८७ लाख विद्यार्थीहरुको नियमित पठन–पाठन कोरोना संक्रमणका कारण लामो समय अवरूद्ध हुन पुगेको यस अन्योल तथा जोखिमपूर्ण अवस्थामा अनलाईन शिक्षाले महत्व राख्दछ । अनलाइन पठनपाठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकियो भने भोलिका दिनमा आउने कुनै पनि महामारीले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठन–पाठनलाई प्रभावित गरे पनि समग्र विद्यालय शिक्षामा नकारात्मक प्रभाव पार्न सक्ने छैनन् । तसर्थ,अहिलेको अवस्थामा अनलाइन पठन–पाठनको आवश्यकता सबैले बुझ्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update