Shittalpati
सम्पदाको संरक्षणमा ध्यान दिऊ

सम्पदा हाम्रा पहिचान हुन् । तर तिनै पहिचानका स्रोतहरु राज्यको संवेदनहीनता, सरोकारवालाको उदासीनता र मानवीय गैरजिम्मेवारपूर्ण रबैयाका कारण नेपालामा रहेका अनेक बहुमूल्य प्राकृतिक सम्पदाहरू नष्ट भइरहेका छन् भने अन्य त्यस्तै सम्पदाहरू अति जोखिममा परेका छन् । अन्य सम्पदाहरूको तुलनामा यहाँका भौगर्भिक सम्पदाहरू अझै बढी जोखिममा परेको पाइएको छ । सरकारी तथा गैरसरकारीस्तरबाट सम्पदाहरुको संरक्षण र सुरक्षाप्रतिको जिम्मेवारीस्वरुप केही कार्यक्रमहरु भने नभएका होइनन्, जसले ती राष्ट्रिय धरोहरहरुप्रतिको चासोलाई भने केही हदसम्म प्रकट गर्न पुगेको छ । प्राकृतिक र सांस्कृतिक हिसाबले नेपालमा रहेका विभिन्न १० वटा सम्पदाहरुलाई विश्व सम्पदाहरुको सूचीमा सूचीकृत गरिएको पाइन्छ । काठमाडौँ उपत्यकाभित्र मात्रै सांस्कृतिक सम्पदाका रुपमा परिचित सातवटा ऐतिहासिक सम्पदाहरु छन् भने बुद्ध जन्मस्थल लुम्बिनी, सगरमाथा र चितवन राष्ट्रिय निकुञ्जलाई समेत विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । विश्व सम्पदा सूचीमा परेका नेपालका कयौँ सम्पदाहरु भौतिक निर्माणको अतिक्रमणमा परिरहेका छन् । सहरीकरणमा वृद्धिसँगै बढ्दो जनसंख्या र अव्यवस्थित घरहरुको निर्माणले विश्व सम्पदाहरु हाल खतरामा पर्दै गएका हुन् । न तिनको उचित तरिकाले सरसफाइ हुन सकेको छ न सही ढङ्गले मर्मतसम्भार नै । सम्पदाहरुलाई लिएर अन्तर्राष्ट्रिय मापदण्डअनुकूल तिनीहरुको व्यवस्थापन गर्न सकिएन भने ती खतराको सूचीमा पर्ने सम्भावना धेरै रहन्छ । खतराको अवस्था सिर्जना हुनु भनेको अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालप्रति हेर्ने दृष्टिकोणमा नकारात्मकता हाबी हुनु हो । सम्पदाहरू पर्यटन उद्योगका लागि ‘सर्वाधिक आकर्षणको केन्द्र’ हुन् तर हाम्रा कामकारबाही तथा सोच पर्यटन उन्मुख छैनन् । यसको अर्थ हो, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे हाम्रो दृष्टिकोण स्पष्ट छैन । विश्वभर गएको सकारात्मक सन्देशले मात्रै देशभित्रको पर्यटन क्षेत्रलाई समृद्ध बनाउन सक्छ भन्ने कुरालाई जोकसैले भुल्नुहुँदैन । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाहरु अवस्थित क्षेत्रहरुको संरक्षण र पुनर्निमाण अहिलेको जल्दोबल्दो आवश्यकता बन्न पुगेको छ । तसर्थ यि सम्पदाहरुको संरक्षणमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update