Shittalpati
विपत्ति कम गर्न ध्यान दिऊ

नेपालका निम्ति मनसुनी विपत्ति एक नियमित नियति हो । यो वर्ष त अझ पानी बढी परेर धेरै ठाउँहरुको जनजीवन अस्तव्यस्त बनाएको छ । जेठ महिनादेखि लगातार परेको वर्षाका कारण पहाडी र तराईका जिल्लाहरूका हजारौँ जनताका घरबस्ती डुबानमा परेका छन् । बाढीले कैयौँको घर बगाएको छ । हजारौँ जनता विस्थापित भएका छन् । बाढी पहिरोको कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ ।
पहाडी क्षेत्रमा विशेष गरी पहिरोका कारण भौतिक संरचनासँगै मानविय क्षति हुने गरेको छ । मानविय कारणले गर्दा नै विपत्तिको अवस्था सिर्जना भएको हो । मानिसले विकास निर्माणको नाममा जथाभावी डोजर चलाएर पहाड फोड्ने, मनपरी सहरीकरण गर्ने, वातावरणीय प्रभावको बेवास्ता गरी सडक र अन्य भौतिक पूर्वाधार बनाउने जस्ता क्रियाकलापले गर्दा बाढी पहिरोको जोखिम बढ्दै गएको हो । तराईमा भने बाढीले धनजनको क्षति हुने गर्दछ । नदी छेउछाउ पहाडबाट बसाई सरेका र तराईकै जनताले घर टहरा बनाएर बस्दा बाढीले धेरै मानवीय र भौतिक क्षति हुने गरेको छ । त्यसरी नदी छेउछाउ बसेका कति जनता गरिब र घरबारविहीन सुकुमवासी पनि छन् भने कति ऐलानी जग्गा उपभोग र स्वामित्वको लोभमा बस्ने गरेका छन् । मानिसका त्यस्ता व्यवहारको कारण नदीको बाटो साँघुरो बन्दै गयो । वर्षायाममा नदीमा धेरै परिमाणमा पानी बग्ने समयमा त्यस्ता मानव बस्तीलाई सखाप पार्ने घटना हुँदै आएको छ । यसलाई रोक्नका लागि मानिस आफैले पनि ध्यान दिनुपर्छ । प्राकृतिक प्रकोपसँग मानव समुदाय जुध्न त सक्दैन तर पूर्वतयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानीलाई न्यूनिकरण गर्न भने सक्छ । हरेक वर्ष औसतमा पाँच सयभन्दा बढी विपद्का घटना हुन्छन् । जसका कारण भौतिक संरचना तथा मानवीय क्षति हुन्छ र जीविकोपार्जनमा समेत असर गर्दछ । नेपालमा लाखांै नागरिक विपद्बाट प्रभावित हुँदा पनि सरकारबाट नियन्त्रणका लागि पर्याप्त पहल हुन सकेको छैन यो अत्यन्त दुखद् हो । नेपालमा पहाडी भागमा पहिरो र भूक्षयको जोखिम छ भने तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागी र महामारीको जोखिम हुन्छ । नेपालमा विपद् निम्त्याउने मुख्य प्रकोपमा सडक दुर्घटना, महामारी, भूकम्प, पहिरो, बाढी, हिमपात तथा हिम पहिरो, खडेरी रहेका छन् । यस्तो अवस्था आउन नदिनको लागि सरकार र जनता आफैले ध्यान दिन आवश्यक छ । नदी नियन्त्रण, वृक्षरोपण, जग्गा प्लटिङमा कडाई, बसाई–सराईंमा नियन्त्रण, ढलको उचित व्यवस्थापन गर्ने विषयमा सबैले ध्यान दिन सके मात्र केही हदसम्म भए पनि विपत्ति कम गर्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update