Shittalpati
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा

मोफसलबाट समाचारमूलक पत्रिका प्रकाशन गर्न शुरु गर्नु पक्कै पनि चुनौतीपूर्ण कार्य थियो । अझै कोभिड १९ ले थला परेको अवस्थामा स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म पुग्न नसकेको अवस्थामा ति आवाजहरुको उठान गर्नु हामीले आफ्नो कर्तव्य मानेर पत्रिका प्रकाशनको थालनी गर्‍यौं । लोकतन्त्रलाई संस्थागत गर्ने काममा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने यथार्थतालाई आत्मसाथ गर्दै पाल्पाबाट विगत २६ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको २६ वर्ष पूरा गरेर २७ बर्षमा पाइला टेकेको छ ।

विगत वर्षहरुमा जस्तै यो वर्ष पनि हामीले ३ सय ५१ अंक प्रकाशत गर्दै आज देखि २७ बर्षमा प्रवेश गरेका छौं । नेपालका धेरै जसो दैनिकहरुले वर्ष दिनमा ३ सय अंक समेत प्रकाशन गर्न नसकेको अवस्थामा पाल्पा जस्तो पहाडी जिल्लाबाट ३ सय ५१ अंक प्रकाशन गरेर पाठकको घरदैलोमा पु¥याउन पाएकोमा खुशी छौं । आरोह, अवरोध, चुनौतीलाई पार गर्दै यो रुपमा आइपुग्न यहाँहरुको माया, सुझाव, सल्लाह, सहयोगको ठूलो हात छ । कठिन यात्रामा अविचलित रुपमा अगाडि बढेरै हामीले २६ वर्षको यात्रा सफलतापूर्वक पार गरिसक्यौं । आजसम्म हाम्रो यात्रामा सहयोग गर्नुहुने सम्पूर्ण ग्राहकवर्ग, समाचारदाता, विज्ञापनदाता, तथा अन्य महानुभावहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि यो सहयोगको अपेक्षा गरेका छौं ।

स्वच्छ र स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई आत्मसात गर्दै पत्रिकाको प्रकाशन सुरु गरेका हामीले, प्रकाशनको यो अवधिमा स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई पूर्णतया पालना गर्ने प्रयास गरेजस्तो लागेको छ । कही कतैबाट भुलवश कुनै कमी कमजोरी भएमा त्यसको मूल्याङ्कन पाठकवर्गले गर्नुहुने विश्वास समेत लिएका छौं । दक्ष जनशक्तिको अभाव, महंगो प्रविधि तथा त्यही प्रविधि पनि सहजताका साथ उपलब्ध नहुँदा प्रकाशनलाई निरन्तरता दिन निकै कठिन भइरहेको छ । तर, केन्द्र, प्रदेश र स्थानीय सरकारहरु, आम पाठकवर्ग, विज्ञापनदाता, संचारकर्मी, शुभचिन्तकहरुको निरन्तर सहयोगले हामीले ती चुनौतीहरुलाई पार गर्दै यो अवस्थासम्म आइपुगेका छौं । २६ वर्षको यात्रा सफलतापूर्वक पार गरेपछि हामीलाई अझै परिष्कृत रुपमा अगाडि बढ्ने हौसला मिलेको छ ।

विगत केही वर्षदेखि यो दैनिकलाई अनलाइन संस्करणमा समेत संगसंगै लग्ने प्रयास गरेका छौं । यसै वर्षदेखि हामीले तराईका पाठकहरुलाई समेत सहज रुपमा नवजनचेतना पढ्ने अवसर प्राप्त होस् भन्ने सोंचका साथ प्रदेश पाँचको अस्थायी राजधानी बुटवलबाट बुटवल संस्करण प्रकाशन गर्ने तयारी भइरहेको अनुरोध गर्न चाहान्छौं । मोफसलमा पत्रकारिताको यात्रा अझै पनि चुनौतीपूर्ण छ, तर यो चुनौतीलाई स्वीकार गरेरै हामीले अगाडि बढ्ने अठोट गरिसकेका छौं । अहिलेसम्म आम पाठकवर्गले हामीलाई दिनुभएको माया, सद्भावले यो यात्रा अझ सहज बनाउन सक्ने अनुभूति भएको छ । आगामी दिनमा स्वतन्त्र पत्रकारिताको मूल मर्मलाई हृदयङ्गम गर्दै आम पाठकको अपेक्षा अनुरुप प्रकाशनलाई निरन्तरता दिनुका साथै स्तरयुक्त सामग्री पस्किरहने प्रतिवद्धता समेत व्यक्त गर्दछौं । –सम्पादक

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update