Shittalpati
रेसुङ्गामा साउने मेला नहुने

गुल्मी, जिल्लाको धार्मिक स्थल रेसुङ्गामा हरेक वर्षको साउन महिना लागेसँगै लाग्ने साउने मेलाका कार्यक्रमहरु यस वर्ष नहुने भएका छन् । कोभिड –१९ महामारीका यस वर्ष साउन महिना भर हुने कुनै पनि मेला महोत्सवका कार्यक्रमहरु नहुने भएका हुन्  । जिल्लामा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण साउन भर हुने मेलाका विशेष कार्यक्रमहरु नहुने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा मन्दिर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दथ्यो । धार्मिक स्थल रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दैनिक पुजा सञ्चालन भने यथावत रुपमा सञ्चालन हुने समितिले जनाएको छ । नेपालकै चार धाम मध्यकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नहुँनाले भूल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजन आउने गर्दछन् । अघिल्ला वर्षहरुमा साउन भर सञ्चालन हुने मेला अन्र्तगत साउन १ गते र साउने औसी, एकादसीका दिन विशेष मेला लाग्ने गर्दथ्यो ।

 

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ । रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महार्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा विभिन्न कालखण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । –अनिल खत्रीबाट

 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update