Shittalpati
मनाइयो २०८ औं भानु जयन्ती

पाल्पा, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । पाल्पामा पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक उपस्थित नभई भर्चुअल प्रविधिको माध्यमबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरी भानु जयन्ती मनाइएको हो ।

नेपाली भाषामा लेखिएको ‘रामायण’ प्रस्तुत गरेर नेपाली भाषा र साहित्यमा ठूलो गुन लगाएका भानुभक्तको सम्झनामा पाल्पाली संगम साहित्य विभाग, पाल्पा साहित्य समाज र भूगोल साहित्य समाजले संयुक्त रुपमा भर्चुअलमार्फत भानु जयन्ती मनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले भानुभक्तकै कारणले हामी बोल्न र लेख्न सक्ने भएको बताए । उनले अग्रजबाट सिकेर अझ धेरै साहित्य साधना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी सबैले भानुभक्तको बारेमा जानेका ऐतिहासिक कुराहरू बताउनुका साथै कविता वाचन समेत गरेका थिए । कार्यक्रममा पाल्पाली संगम काठमाडौंका अध्यक्ष पदम न्यौपाने,साहित्य बिभाग प्रमुख सीता बिष्ट कार्की , पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, समाजका अध्यक्ष पुष्कर अथक रेग्मी , भूगोल साहित्य समाजका अध्यक्ष बिनोद नेपाल, साहित्यकारहरू भागवत खनाल,शान्ता शाक्य, नैना नेपाल ढकाल,कमला देवकोटा ,बिपिन आचार्य,हरिश्चन्द्र गौतम,नवराज पुडासैनी , महेन्द्र पन्थी,मन्जु ढकाल,दिनेश बिक्रम थापा,अम्बिका आचार्य, अप्सना श्रेष्ठ ,मुकुन्द अर्याल,पदमा सापकोटा ,शैलेन्द्र कुमार शाह,उमेश तिमिल्सिना लगायतका साहित्यकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकार बिनोद नेपालले भानुभक्तको योगदानका विषयमा प्रकाश पारेका थिए ।

 भागवत ज्ञवाली , पुष्कर अथक रेग्मी , महेन्द्र पन्थीले भानुभक्तका ऐतिहासिक योगदानका विषयमा चर्चा गरेका थिए । कार्यक्रम पाल्पाली संगम काठमाडौंका अध्यक्ष पदम न्यौपानेको अध्यक्ष्यता, साहित्य विभाग प्रमुख साहित्यकार सीता बिष्ट कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update