Shittalpati
पाल्पामा वीपी स्मृति भवन र पुस्तकालयको समुद्घाटन

पाल्पा,  पाल्पामा वीपी स्मृति भवन र वीपी पुस्तकालयको समुद्घाटन गरिएको छ । नेपाली काँग्रेस पाल्पाद्वारा निर्मित वीपी स्मृति भवन र पुस्तकालयको भर्चुअल प्रविधिमार्फत समुद्घाटन गरिएको हो ।


सोमबार भवन र पुस्तकालयको नेपाली काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा भर्चुअल प्रविधिमार्फत समुद्घाटन गरेका हुन् । समुद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले भवन र पुस्तकालय निर्माणमा योगदान पुर्‍याएका पार्टीका जिल्लास्थित नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिदै पार्टी संगठन निर्माणमा थप सशक्त भएर लाग्न आग्रह गरेका छन् । कार्यक्रममा वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनमा जुट्न जिल्लाका नेता तथा नेतृत्वलाई आग्रह गरेका छन् । उनले पार्टी निर्माणमा जुझारु र सक्षम नेतृत्व ल्याउनु वर्तमान आवश्यकता रहेको औल्याए । देशलाई सहि मार्ग प्रदान गर्ने नेपाली काँग्रेसको जीवनसँग महाधिवेशन जोडिएकाले, जस्तो सुकै संकटको सामना गरेर भए पनि महाधिवेशन गराउनु अहिलेको अपरिहार्यता रहेको उनको भनाई छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य हरि प्रसाद नेपालले पार्टी कार्यालय झोला र भाडाको कार्यालयबाट आफ्नै कार्यालयमा रुपान्तरण हुन सफल भएको बताए । उनले पार्टीलाई थप सशक्त बनाएर लैजान सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरे । काँग्रेसका पूर्व केन्द्रिय सदस्य तथा पूर्व जिल्ला सभापति राजन प्रसाद पन्तले आफ्नै कार्यालय नहुँदा द्वन्दकालमा देखा परेका समस्याहरुको स्मरण गर्दै अहिले आफ्नै भवन निर्माण गर्न सकिएकोमा खुसी व्यक्त गरे ।

काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले भवन र पुस्तकालय निर्माणमा योगदान पुर्‍याएका सम्पूर्ण संघसस्था, पार्टीका साथीहरुलाई धन्यवाद दिए । नेपाली काँंग्रेसका पूर्व सभापति ठाकुरचन्द्र विप्र, पार्टी जिल्ला सचिव अजयमान कर्माचार्य, महासमिति सदस्यहरु रमणबहादुर थापा, यमलाल तिमिल्सीना, नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति सन्तोष कुमार थापा, क्षेत्र नं. २ का सभापति राम बहादुर कार्की, क्षेत्र नं. २ ‘क’ का सभापति कृष्ण प्रसाद बस्याल, नेपाली काँग्रेस जिल्ला महिला विभाग प्रमुख शान्ता बोहोरा, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई लगायतले पार्टीलाई थप सशक्त र चलायमान बनाएर लैजान अबको नेतृत्व आउनु पर्नेमा जोड दिए । काँग्रेसका उपसभापति देवराज ढकालको स्वागत सचिव झपेन्द्र गहिरेको सञ्चालनमा भर्चुअल कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update