Shittalpati
गुल्मीको धुर्कोट खरको छानामुक्त गाउँपालिका

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका बनेको छ । गाउँपालिकाले एक औपचारिक कार्यक्रमका बिच पालिकालाई खरको छानामुक्त पालिका घोषणा गरेको हो । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्री, गाउँपालिकाका अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी सहित अन्य कर्मचारी, पत्रकार र स्थानीय सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिकालाई खरको छानामुक्त पालिका घोषणा गरेका हुन् ।

‘आज भन्दा ४ बर्ष अघि गाउँपालिकाका जनप्रनिधिहरुले पदभार ग्रहण गरेको सोही दिन कार्यापालिकाको पहिलो बैठकले दुई वटा निर्णय गरेका थियो’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने, ‘एउटा निर्णय खरको छानामुक्त गाउँपालिका र अर्को एक घर एक धारा धुर्कोट गाउँपालिका कार्यकाल अवधिमा घोषणा गर्ने । त्यस मध्ये एक घर एक धारा कार्यक्रम सम्पन्न हुने चरणमा छ भने घरको छानामुक्त धुर्कोट गाउँपालिका हामीले जिम्मेवारी सम्हालेकै दिन घोषणा छौं ।’

जिल्लाका १२ वटा स्थानीय तह मध्ये सबै भन्दा पहिला खरको छानामुक्त पालिका घोषणा गर्ने धुर्कोट गाउँपालिका पहिलो पालिका बन्न सफल भएको छ । घोषणा सभामा धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले खरको छानामुक्त पालिका धुर्कोट सम्भवतः देश मै पहिलो हुन सक्ने दावी गरे । हाल सम्म ५ सय ४ वटा खरका छाना विस्थापित गरि जस्ता पाताले गरिब विपन्नहरुको घर छाईएको बताइएको छ । नागरिक सुरक्षित आवास कार्यक्रम मार्फत थप १ सय ५७ घरधुरीलाई जस्तापाता उपलब्ध गराईएको अध्यक्ष पोखरेलले बताए ।

जनता आवास कार्यक्रम मार्फत विपन्न वर्गका लागि ३७ वटा घर निर्माण गरिएको र धुर्कोट गाउँपालिका ७ , वाग्ला ज्यामिरेकोटमा पहिरोका कारण उच्च जोखिममा रहेको वस्तीलाई एकिकृत नमुना वस्तीमा सार्नका लागि १८ घर निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए । गाउँपालिकामा भुकम्पपछि गरिएका पुनर्निर्माण ५ सय २९ वटा घर निर्माण गरिएको उनले बताए । कार्य सम्पन्न गर्न कुल १९ करोड २९ लाख ९४ हजार १९ रुपैयाँ लगानी भएको पालिका प्रमुख पोखरेलले जानकारी दिए । घोषणा सभामा कार्यपालिका सदस्य कमला घर्ति, नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष टोपलाल अर्यालय, राष्ट्रिय जनमोर्चा धुर्कोटका अध्यक्ष सुर्य थापा, नेकपा माओवादी केन्द्रका निमबहादुर पाण्डे, नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण घिमिरे, नेपाली कांग्रेसका नेता छन्द पहराई लगायतले शुभकामना मन्तब्य राख्दै धुर्कोट गाउँपालिकालाई बधाई दिएको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update