Shittalpati
प्रधानमन्त्री र केकको चर्चा

बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्रीद्वारा केक बोक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक काटिएको विषयले यति बेला प्रधानमन्त्री आलोचित भएका छन् । प्रधानमन्त्री ओलीले जन्मदिन मनाएको विषयमा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्ममा चौतर्फी आलोचना भएको छ ।

प्रधानमन्त्री स्वयंमा एउटा व्यक्ति हुन् । उनका पनि आन्तरिक इच्छा र चाहनाहरु पक्कै होलान् । जन्मदिनमा आफ्नो पुख्र्यौली जन्मघरमा पुग्न मन लाग्नु, पारिवारिक सदस्यहरुसँग रमाइलो भेटघाट गर्न मन लाग्नु अस्वाभाविक होइन । जन्मदिन मनाउनु उनको निजी कुरा पनि हो, यो स्वतन्त्रता प्रधानमन्त्रीका हकमा लागू नहुने कुरा आएन । ओलीले आफ्नो जन्मदिन तेह्रथुमस्थित जन्मघरमा मनाउँदै गर्दा नेपालको आकृति भएको केक काटिएको तस्विर सार्वजनिक भएपछि विरोधको स्वर चुलिएको हो । आफ्नो मातृभूमिलाई टुक्रा–टुक्रा पारेर काटेको भन्दै उनकै पार्टी नेकपाका नेताहरुले समेत आलोचना गरेका छन् ।

प्रधानमन्त्रीले ‘केक’ काटेकैले आलोचना भएको होइन केवल नेपालको नक्सा भएको केक काटिएको र मोटो रकम खर्चिइएकोमा आलोचना भएको हो । देश सबैका लागि प्यारो अवश्य छ भने देशको नाम गाँसिएकाले जनताले आवाज उठाउनु र आलोचना गर्नु कुनै अस्वभाविक होइन । कमजोरीलाई कमजोरी हो भन्ने वुद्धिको विकास भएको आजको जनताको मनलाई अबका नेतृत्वले गर्वका साथ स्वीकार गर्नुपर्छ । हरेक कार्य गर्नुअघि जनताको नाममा एउटा मन अर्पिनु आवश्यक छ, किनकि जनतामा नेतृत्वलाई चियो गर्ने क्षमताको विकास भएको छ । यसर्थ यो विरोध वर्तमान प्रधानमन्त्रीको होइन । उनको कार्यमा भएको कमजोरीको हो ।

राष्ट्रिय एकता र स्वाधीनताको रटन लगाउँदै राष्ट्रवादी नेताको उपाधिले चिनिने ओलीले आमाको प्रतीकलाई केकका रुपमा काट्दा सकारात्मक सन्देश जाने कुरै भएन । प्रधानमन्त्री आफैँमा सार्वजनिक चासोका व्यक्तित्व हुन् । उनको व्यक्तित्व, बानी–व्यवहार, स्वास्थ्य, दैनिक जीवन सबै विषयमा चर्चा चल्नु स्वाभाविकै हो । त्यसैले, निकै तामझामसँग मनाइएको जन्मोत्सवबारे आमजनताको चासो रहनु पनि अन्यथा होइन ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update