Shittalpati
सञ्चार विधेयक फिर्ताको माग गर्दै पत्रकारहरु धर्नामा


बुटवल, लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न माग गर्दै पत्रकारहरु धर्नामा बसेका छन् । आइतबार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिमा आवद्ध पत्रकारहरुले सञ्चार विधेयक फिर्ता लिन माग गर्दै लुम्बिनी प्रदेशसभा अगाडि धर्ना दिएका हुन् ।

विधेयक ल्याउँदा सरोकारवालासँग पर्याप्त छलफल नभएको, नेपालको संविधानको मौलिक हक,नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका मूल्य मान्यता विपरित र पत्रकारितालाई फौजदारी कानूनले नियन्त्रण गर्न खोजेकाले विधेयक आपत्तिजनक रहेकाले फिर्ता गर्नुपर्ने माग उनीहरुको छ ।
प्रदेश सरकारले दर्ता गरेको विधेयक प्रेस स्वतन्त्रता विरोधी र निरंकुश रहेको भन्दै पत्रकारहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । विधेयकबारे सबै प्रदेशसभा सदस्यहरुको ध्यानाकर्षण गराउने उद्देश्यले प्रदेशसभा बैठक शुरु हुनु एक घण्टा अघि दिउँसो १२ बजेदेखि १ बजेसम्म महासंघले कालो ब्यानरसहित धर्ना दिएको हो ।

धर्नापछि बोल्दै पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले विधेयकको मस्यौदामा राखिएका सञ्चारमाध्यम दर्ता, नवीकरण बन्द, सञ्चार परिषद् गठन, दण्ड जरिवानाका दफाप्रति महासंघको आपत्ति रहेकाले पुनर्लेखन गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए । विधेयकमा सञ्चार रजिष्ट्रारले सञ्चारमाध्यमको दर्ता नवीकरण बन्द गर्नसक्ने, पत्रकारलाई कार्यक्रम प्रसारण गरेवापत एक वर्ष कैद सजाय तोक्न सक्ने जस्ता संघीय कानून विपरीतका प्रावधान रहेकाले महासंघले विधेयक स्वीकार नगर्ने उनले बताए ।

 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update