Shittalpati
बाढी–पहिरोको पीडा

बाढी–पहिरोको नियति हरेक वर्ष नेपालीले बेहोर्दै आएका छन् । यस वर्ष पनि जेठ महिनाबाटै शुरू भएको मनसुनले देशका अधिकांस स्थानमा मानवियसँगै भौतिक क्षति गरेको छ । बाढी–पहिरोकै कारण अधिकांश घरपरिवार विस्थापित भएका छन् । सयौंको संख्यामा घर–टहरा भत्किएका छन् । बाढी पहिरोले देशैभर तहस नहस बनाएको छ । पहिरोको प्रकोपबाट पाल्पा जिल्ला पनि अछुतो रहन सकेको छैनन् ।
बिहीबार मात्र पाल्पाको तिनाउ गाउँपालिकामा पहिरोले पुरिँदा दुई जनाको ज्यान गएको छ । त्यहाँ पहिरोले पाँच घर पुरिँएका छन् भने सात जना घाइते छन् । बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण तिनाउ ५ हिउँदे खोला नजिकै गएको ठूलो पहिरोले मानवियसँगै भौतिक क्षति पु¥याएको छ । यो केही उदाहरण मात्र हो यस्ता घटना देशभर नै भइरहेका छन् । यस्ता घटनाहरु हुन नदिन सबै चनाखो हुन आवश्यक छ । मानवीय र भौतिक दुवै क्षतिको जोखिम यस वर्ष पनि छ । त्यसकारण जोखिम न्यूनीकरण गर्नका लागि सरकार, जनसाधारण सबै चनाखो हुन जरुरी छ । रोग लाग्नुअगावै रोकथामको उपायको खोजी गर्नु र त्यसको अवलम्बन गर्नु विवेकी काम हो । प्राकृतिक विपद् सन्दर्भमा पनि यसको जोखिम न्यून गर्ने उपाय अपनाउनतिर केन्द्रित हुन आवश्यक छ । यति प्राकृतिक विपद् आइपरेमा राहतको समेत व्यवस्था गर्न पूर्व तयारी अपनाउनु पर्दछ । आफ्ना नागरिकको जीउधनको रक्षा गर्ने दायित्व सरकारको हो । तर सरकारले यस विषयमा खासै चासो देखाएको छैन । बाढी–पहिरोबाट प्रभावितहरुका लागि सरकारले पर्याप्तमात्रामा राहतदिन सकेको छैन । जनता भोकभोकै मर्न थाल्दा सरकार जुन परिमाणमा संवेदनशीलहुनुपथ्र्यो,भएको छैन । सरकारले विपद्को पूर्वतयारी नगर्दा अधिकांश बाढी–पहिरो पीडित वर्षेनी समस्यामा पर्ने गरेका छन् । हरेक वर्ष यस प्रकारको प्राकृतिक विनास गर्ने विषयमा सरकार अनभिज्ञ छैन । समयमै पूर्वतयारी नगर्दा वर्षेनी ठूलो धनजनको क्षतिहुने गरेको छ । मनसुन शुरू हुनासाथ आएको बाढी–पहिरोले गरेको क्षतिले आगामी दिनमा अझ बढी संकट थपिने त्रास बढेको छ । एकातिर कोरोनाको महामारी, अर्कातिर बाढी पहिरोको भारी– नेपालीहरू साँच्चिकै समस्यामा छन् । यसतर्फ सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update