Shittalpati
राहत  लिएर पहिरो प्रभावित क्षेत्र पुग्यो पाल्पा काँग्रेस

पाल्पा, नेपाली काँग्रेस पाल्पा राहत लिएर पहिरो प्रभावित क्षेत्रमा पुगेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा राहत लिएर काँग्रेस पहिरो प्रभावित क्षेत्र पाल्पाको तिनाउ गाउँपालिका–५ चर्चरेमा पुगेको हो । काँग्रेसले पहिरोबाट विस्थापित ५ घर परिवारका लागि खाद्यान्न सहयोग गरेको छ । उसले पहिरोमा ज्यान गुामएका प्रति श्रद्धाञ्जली, परिवाजनमा समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनसँगै राहत लिएर पुगेका नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद रानाले प्राकृतिक विपतबाट भएको धनजनको क्षति प्रति दुःख व्यक्त गरेका छन् । उनले पहिरो पीडितहरुलाई धर्य भएर बस्न आग्रह गर्दै छिट्टै उचित व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताए । सभापति रानाले काँग्रेस सधै गरिब, दुखी र पीडितहरुका लागि अग्रसर हुँदै आएको पार्टी रहेको बताउँदै तत्कालका लागि केही खाद्यान्न लिएर आएको बताए । उनले आवश्यक राहत र बस्ने प्रवन्धका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । सभापति रानाले दैवीप्रकोपका कारण समस्यामा परेका परिवारका सदस्यहरुको यथासक्य छिटो गाँस, बास र कपासको व्यवस्थापन गर्न सरोकारवाला पक्ष सबैको ध्यानाकर्षण गराएका छन् । उनले भने ‘स्थानीय विद्यालयमा आश्रय लिई रहेका पीडित परिवार र बालबालिका, महिला तथा वृद्धवृद्धालाई औषधोपचारका साथै उनीहरुको जीविकोपार्जनका लागि तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।’ पत्रकार तथा नेपाली काँग्रेसका युवा नेता जगदीश भट्टराई,नेपाली काँग्रेस पाल्पाकी नेतृ तथा समाजसेवी मीनापन्थी, काँग्रेस नेताहरु रुक्मागत भट्टराई, स्थानीय समाजसेवी तथा अन्य नेताहरुको सहभागितामा राहत वितरण गरिएको थियो ।

गत विहीबार गएको पहिरोमा परी तीन जनाले ज्यान गुमाएका छन् भने ६ जना घाईते छन् । पहिरोमा परेर ४५ वर्षीय वीरबहादुर गुरुङ ,४ बर्षीय आरोप परियार र ७५ वर्षीय सुन्दरी गुरुङको ज्यान गएको छ । पहिरोमा परी घाइते भएका २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिल बहादुर राना र दिपेश पुनको उपचार भइरहेको छ । पहिरोले दुई घर पुरिएको र तीन घर बगाएको थियो । बिरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर बगाएको हो । पहिरोका कारण विस्थापितहरुलाई स्थानीय बालकल्याणी आधारभूत विद्यालय मस्याममा खाना, बस्नको व्यवस्था मिलाइएको छ ।

 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update