Shittalpati
रोगको प्रकोपबाट बचौं

यो वर्खाको समय हो । बाढीपहिरो र डुबानजस्ता विपत्तिसँगै सरुवा रोगको जोखिम पनि बढेको छ । बर्खा लागेसँगै झाडापखाला र हैजाजस्ता सरुवा रोगका विरामी बढ्ने गर्छन् । यो समयमा खाना, पानी, बसाइ तथा कपडा प्रयोग गर्दा समेत सचेत हुनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् । सामान्यतया हिउँदको समयको तुलनामा बर्खामा बढी बिरामी हुने गर्दछन् । वर्खाको समयमा वर्षाको भेलले पानीको मुहान प्रदूषित हुन गई दूषित पानी र खानाका कारण सरुवा रोगले आक्रामण गर्ने गर्दछ ।

दूषित पानीका कारण हेपाटाइटिस ए,सी र ई तथा झाडापखालाका साथै निरन्तर वर्षाका कारण पानी, कीट र हावाजन्य रोगको जोखिम पनि उत्तिकै बढाएको छ । कोरोना महामारीका कारण पीडित बनेका आम नागरिकहरु अन्य सरुवा रोगहरुबाट समेत पीडित बन्न थालेका छन् । दूषित पानीको सेवन र सरसरफाइको कमीले गर्दा नै भाइरस र ब्याक्टेरिया संक्रमणबाट टाइफाइडका बिरामी बढ्ने गरेका छन् । वर्षाद्का बेला अधिकांश पानीको मुहान दूषित बनेको छ । खानेपानीको समस्याले गर्दा कतिपयले बाध्यतावश दूषित पानी पिइरहेका छन् । कतै कतै यो बाध्यता पनि छ । पानी अभावका कारण दूषित पानी पिउनुपर्ने बाध्यता नेपाली समाजमा कायमै रहनु दुखद् हो ।

वर्षायाममा पानीका मुहान दूषित हुने हुँदा पानी उमालेरमात्र पिउनु पर्दछ । यस तर्फ सरकारले ध्यान दिन जरुरी छ । कम्तीमा पनि सरकारले प्रत्येक नागरिकहरुलाई स्वच्छ खानेपानीको प्रवन्ध मिलाइदिनु पर्दछ । बासी, सडेगलेका तथा झिंगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि रोग लाग्नसक्छ । खाना राख्ने तथा खाने भाँडा फोहोर भएर पनि रोग लाग्छ । बजारमा काटेर राखिएका फलफूल नधोई खानु हुँदैन  । यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले पखालेरमात्र खाने गर्नु पर्दछ । यो मौसममा झिंगा, लामखुट्टे, फट्यांग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ । पानी उमालेर पिउने गर्दा ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ । यो मौसममा रोगहरु फैलिने हुनाले यी सबै बिमारीको आधारभूत रोकथामका लागि उमालेर सेलाएको पानी पिउन जरुरी छ । सरुवा रोगहरुबाट बच्न सफा खाना, शुद्ध पानी, पर्याप्त सरसफाइ, वातारणीय सरसफाइ नै एकमात्र उपाय हो । तसर्थ यस्ता कुराहरुमा बढी ध्यान दिऔं र सरुवा रोगबाट बचौं ।

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update