Shittalpati
पत्रकारितालाई पेसाको रुपमा स्थापित गर्न सकिएको छैन: पहाडी

गुल्मी,  राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष तथा संविधान सभा सदस्य विनोद पहाडीले पत्रकारितालाई अझै पनि पेसाको रुपमा स्थापित गर्न नसकिएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति गुल्मीले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष पहाडीले समाजले अझै पनि पत्रकारितालाई पेसाको रुपमा स्वीकार्न नसकिरहेको बताएका हुन् ।

‘हाम्रा अभिभावकहरुले यसलाई पेसाको रुपमा मान्दैनन् । खाडी मुलूकमा गएर मजदुरी गरेर दुई चार हजार पठाउन सक्यो भने त्यो रोजगारी हुन्छ, पेसा हुन्छ ।’ पहाडीले भने,‘तर पत्रकारितामा मासिक ५० सै हजार कमाए पनि हाम्रो सामथ्र्य स्वीकारिदैन् ।’

अध्यक्ष पहाडीले दलित समुदायबाट उत्पादित जनशक्तिलाई पत्रकारिता पेसामा टिकाई राख्न समस्या भएको बताए । ‘दलित समूदायबाट पत्रकारितामा ल्याउनै गाह्रो, ल्याइसकेपछि टिकाउनै गाह्रो, यो कठिनाई छ ।’ पहाडी भने । अबको आन्दोलन राष्ट्रिय मूल धारका नीजि तथा सरकारी सञ्चारमाध्यमहरुको नीतिगत तहमा नेतृत्वका लागि सामथ्र्य कायम गर्नु रहेको बताए ।

अध्यक्ष पहाडी सहित जिल्लामा आएका मानवअधिकारकर्मी समुन्द्र जिसी, अधिवक्ता पदम कार्की, महिला अधिकारकर्मी निर्मला श्रेष्ठलाई राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले सदरमुकाम तम्घासमा स्वागत गरेको थियो । त्यस अवसरमा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, दलित महिला संघ गुल्मीकी अध्यक्ष कमला बराल, राष्ट्रिय दलित पत्रकार संघ गुल्मी शाखा अध्यक्ष रमेश विश्वकर्मा, सदस्य सुनिल विश्वकर्मा लगायतको सहभागिता रहेको थियो । संघका सचिव मनु सुनारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update