Shittalpati
निषेधाज्ञा खुकुलोसँगै सतर्क रहौं

कोरोनाको दोस्रो लहरको संक्रमणबाट हुने जोखिम न्यूनीकरण गर्न सरकारले देशैभर निषेधाज्ञा लगाएको छ । बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा अहिले अधिकांस जिल्लाहरुमा खुकुलो बनाइएको छ । संक्रमणदरमा कमी आएपछि खुकुलो बनाइएको हो । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिहरुको चहलपहल बढ्दै गएको छ । संक्रमणदरमा कमी आएर निषेधाज्ञा खुकुलो बनाइनु र मानिहरुको चहलपहल बढ्नु स्वाभाविक नै हो ।
तर यसो भन्दै गर्दा लापरवाही गर्नु चाँही हुँदैन । खाद्यान्न पसलहरूलगायत अन्य अत्यावश्यक सेवा सुविधाका पसलहरू निश्चित समयका लागि खुलेका छन् । यसको साथसाथै अधिकांस जिल्लाहरुमा सार्वजनिक यातायातलगायत अन्य सवारी साधनहरूको हितमा भने जोरबिजोर प्रणाली निर्धारण गरिएको छ । सार्वजनिक यातायातले सिट क्षमताभन्दा बढी राख्न नपाउने, गाडीलाई स्यानिटाइजर गर्नुपर्ने, अनिवार्य मास्क र स्यानिटाइजरको व्यवस्थासमेत गरेको हुनुपर्छ । यसरी निषेधाज्ञालाई खुकुलो बनाउँदा बाहिरबाट हेर्दा जनजीवन जति सामान्य देखिन्छ त्यतिनै कोरोना संक्रमण बढ्न सक्ने सम्भावना बढी देखिन्छ । निषेधाज्ञा खुकुलो बनाउनु अघि संक्रमणको दर घटे पनि अहिले भने क्रमश बढ्दै गएको छ । मानिसहरुको लापरवाहीका कारण अहिले यस्तो अवस्था सिर्जना भएको हो । संक्रमण आफ्नै कारणले सर्छ, फैलन्छ र संक्रमित भइन्छ । स्वास्थ्य आफ्नै हो, अनि उपचार पनि आफैंले गर्नुपर्छ । लापरवाही गरे परिवार, समाज र राष्ट्रलाई पनि क्षति पुग्छ, आर्थिक संकटसँगै ज्यानै जान्छ भन्ने मात्रै सोचेर सचेत भए निषेधाज्ञा र लकडाउनको आवश्यकता नै पर्ने थिएन । तर सचेत नबन्दा निषेधाज्ञाको समय सरकारले थप्नु परेको छ । अहिले जताततै भीडसँगै मानिसहरूको लापरवाही बढिरहेको छ । नत मास्क नै लगाउँछन्, नत सामाजिक दूरी नै कायम गरेर बस्छन् । सुरु–सुरुमा जस्तो बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्नमा समेत कमि आइसकेको छ । जसले गर्दा संक्रमण बढ्ने सम्भावना बढेर गएको छ । सरकारले जनताको परिस्थिति बुझेर निषेधाज्ञा खुकुलो गरेको हो कोरोना हटेर होइन । यसर्थ निषेधाज्ञा खुकुलो भयो भन्दैमा लापरवाही नगरौं उच्च सतर्कता अपनाऔं ।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update